चन्द्रागिरीबाट इट्टाभट्टा हटाउनेबारे काठमाडौं सिडियो दाहाल सकारात्मक, स्मार्ट कमिटी गठन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

उपत्यकाको वातावरण प्रदुर्षणमा प्रमुख कारकको रुपमा रहेका अव्यवस्थित इट्टाभट्टा काठमाडौंबाट हटाउने विषयमा सरकारी निकायले पीडितको पक्षमा ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गरेको छ।

चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी र रमेश महर्जन तथा प्रत्यक्ष प्रभावित वडाका वडाध्यक्षहरु राजेन्द्र बानिया, उत्तम राउतका अतिरिक्त भट्टा पीडित स्थानीय बासिन्दा र भट्टा सञ्चालकहरुबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा नगरपालिकाका जनप्रतिनिधि र पीडितले उपत्यकाको वातावरण संरक्षणका लागि भट्टा हटाउनुको विकल्प नभएको बताए।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तीन पक्षकै प्रतिनिधिहरुलाई बोलाएर गरेको छलफल पश्चात सरकारले उपत्यकाबाट भट्टा हटाउने विषयमा कुनै दुविधा नभएको भन्दै नगरपालिकाहरुले गरेको निर्णय कार्यान्वयन गर्ने गराउने सवालमा आवश्यक सुरक्षा व्यवस्था पत्याभूत गर्ने बताए।

भट्टाहरुको विस्तापनको विषयमा के कसरी अघि बढ्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारी दाहालकै उपस्थितिमा एउटा स्मार्ट कमिटी गठन समेत गरिएको पीडित स्थानीयवासी अच्युत अधिकारीले बताए।

खासगरी उपत्यकाको प्रमुख नाका चन्द्रागिरी नगरपालिकामा रहेका १४ वटा अव्यवस्थित भट्टाको कारण उक्त नगरपालिका र ऐतिहासिक कीर्तिपुर नगरपालिकाका बासिन्दाहरु प्रत्यक्ष रुपमा प्रभावित भएपछि दुबै नगरपालिकाले मानववस्तीकोबीचमा रहेका सबै भट्टा हटाउने निर्णय गरेको थियो।

तर, भट्टा व्यवसायीहरुले जबरजस्ती मानववस्तीको बीचमा उद्योग सञ्चालन गर्न पाउनु पर्ने भन्दै पुनः इट्टा पार्न थालेपछि चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका वासिन्दा आन्दोलित भएका थिए।

जिल्ला प्रशासनमा भएको छलफलका क्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख गिरीले आफ्नो नगरपालिका नगर परिषद बैठकले यसअघि नै पटक पटक भट्टा हटाउने र यसवर्षदेखि इट्टा पार्न र पोल्न नदिने भनि निर्णय गरी समयमा जानकारी गराउँदा पनि व्यवसायीहरुले अटेर गरेको भन्दै आफू नगरपरिषदको निर्णय कार्यान्वयन गराउने पक्षमा अडिग रहेको बताए।

त्यसैगरी कीर्तिपुर नगरपालिका प्रमुख महर्जनले पनि आफ्नो नगरपालिका क्षेत्रभित्र इट्टा पार्न र माटो खन्न रोक लगाइसकेको जानकारी दिँदै भट्टाको कारण नगरपालिकामा वातावरणीय प्रदुर्षण भएको बताएका थिए।

स्थानीय पीडितहरुको तर्फबाट संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले काठमाडौंको प्रमुख नाका चन्द्रागिरीमा रहेका मापदण्ड विपरितका भट्टाको कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आगामी भ्रमण वर्षको समयमा पर्यटन प्रवद्र्धनका लागि पनि भट्टा हटाउन माग गरे।

पीडित स्थानीय बासिन्दा अच्यूत अधिकारीले नेपालमा वार्षिक रुपमा करिब १० हजार मानिस वातावरणीय प्रदुर्षणका कारण मर्ने गरेकोमा ३७ प्रतिशत प्रदुर्षण भट्टाकोबाट निस्कने धुवाँ र धूलोको कारण रहेको भन्दै यसले मानिसमा क्यान्सरदेखि छाला, मुटु र मस्तिष्कको समस्या उत्पन्न गराएको बताए।

आफूँहरुले भट्टा हटाउन माग गरेको भन्दा पनि चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गराउन माग गर्दा व्यवसायीहरुबाट धम्की खेप्नु परेको उनले बताए।

एक स्थानीयवासीले नगरपालिकाले गरेका निर्णय जनताले मान्नु पर्ने तर, भट्टा व्यवसायीले पालना नगरेपनि हुने हो भने नगरपालिकाका अन्य निर्णय जनताले किन मान्ने भनि प्रश्न गरेका थिए।

तर, भट्टा व्यवसायी तीर्थलाल महर्जन र भट्टा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले आफूहरुले उद्योग मन्त्रालय र विभागबाट अनुमति लिएर संचालन गरिरहेको व्यवसाय हटाउन नमिल्ने जिकिर गरेका थिए।

बाहिरबाट आएका मानिसले भट्टा वरपर वस्ती बसाएर आफ्नो व्यवसायमाथि धावा बोलेको आरोप लगाउँदै महर्जन र चित्रकारले आफूहरुले व्यवसाय गरी खान पाउनु पर्ने माग पनि गरेका थिए।

महर्जन र चित्रकारको उक्त अभिव्यक्तिबाट आक्रोसित बनेका कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र बानियाले प्रतिवाद गर्दै भने, ‘गरिखान पाइन्छ तर, मारिखान पाइँदैन।’

व्यवसायीहरले जथाभावी माटो खन्दा जमिनको उर्वराशक्ति ह्रास भएको मात्र होइन, कतिपय घरहरु चर्किएको र जमिन भाडामा लगाएकाले पनि उचित मूल्य नपाएको भन्दै आफ्नो वडामा माटो खन्न नदिने प्रण बानियाले गरे।

उनले व्यवसायीले गरिखान पाउने अधिकार भन्दा पहिले जनताले स्वच्छ वातावरणमा सुरक्षित रुपले बाँच्न पाउने अधिकारको रक्षा हुनु पर्ने भन्दै अन्यथा द्धन्द्धको स्थिति आउने चेतावनी दिए।