लिपुलेकका विषयमा भारत र चीनका प्रधानमन्त्रीबीच भएको सहमतिबारे नेपाल बोल्नु पर्छः वरिष्ठ नेता पौडेल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
झापा,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारत र चीनका प्रधानमन्त्रीले बेइजिङ्गमा लिपुलेकलाई अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने गरी गरेको सहमतिका बारेमा नेपाल सरकारले बोल्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले लिपुलेक त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमी भएकाले नेपालको समेत सहभागितामा सो सहमति हुनुपर्ने बताए।

उनले भने, ‘‘लिपुलेकमा अन्तराष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो। तर, नेपाललाई बाहिर राखेको विषयमा पनि कुरा गर्नुपर्छ।’

पौडेलले दुई तिहाईको सरकारलाई प्रतिपक्षले समेत यस विषयमा विनासर्त साथ दिएको बेलामा सरकारले कुटनीतिक पहल गरेर सीमा विवाद समाधान गर्न नसके कम्युनिष्टहरुले राष्ट्रवादको खोक्रो नारा लगाउन छोड्नुपर्ने बताए।

उनले अहिले जस्तो उपयुक्त मौका सरकारका लागि नभएको भन्दै सीमा विवादको अन्त्य गर्ने विषयले प्रधानमन्त्री केपी ओलीको गफ र काम के हो भन्ने छुटिने बताए।

पौडेलले सरकारले जनताका आवश्यकता के हुन भन्ने विषयलाई छुटायाउन नसकेको आरोप पनि लगाए।

उनले भने, ‘सरकारले जनताका आवश्यकता खुट्याउन सकेन। जनतालाई खानेपानी चाहिएको छ। प्रधानमन्त्री पानीजहाजको कुरा गर्नुहुन्छ। जनतालाई सडक चाहिएको छ। तर, सरकार रेल ल्याउने कुरा गर्छ।’

कांग्रेस जे बोल्छ त्यही गर्छ तर, कम्युनिष्टहरु जे बोल्छन त्यो गर्नै सक्दैनन् भन्दै पौडेलले कम्युनिष्ट नेताहरुको दैनिकी कांग्रेसले बनाउन सुरु गरेको संरचनाको उद्घाटन गर्न जाने अनि फोटो खिच्ने र कांग्रेसलाई गाली गर्ने मात्र भएको बताए।

उनले भने, ‘अहिलेको सरकारले कुनै नयाँ र ठुला योजना संचालन गर्न सकेको छैन। कांग्रेस सरकारका पालामा काम सुरु भएका संरचनाको उदघाटन गर्ने , फोटो खिच्ने अनि कांग्रेसले केहि गरेन भनेर गाली गर्ने काम कम्युनिष्ट नेताहरुको दैनिकी जस्तै भएको छ।’

पौडेलले कांग्रेस कार्यकर्ताले आफुलाई जनतासंग जोडेर कम्युनिष्टहरुको गरेको राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए।

पौडेलले राजनीतिमा गुटबन्दी स्वभाविक भएपनि गुटबन्दी व्यवस्थापन गर्न नसक्दा कांग्रेस कमजोर भएको बताए। उनले राजनीतिमा गुटबन्दी सत्ययुगदेखि नै भएको बताउँदै तटस्थ बस्ने कार्यकर्ता आफुलाई असुरक्षित भएको महशुस गरि गुटमा लाग्ने बताए।

उनले भने, ‘तटस्थ कार्यकर्ता आफुलाई असुरक्षित महशुस गरि गुटमा लाग्छ। तर, नेतृत्वले व्यवस्थापन गर्दा आम कार्यकर्तालाई असुरक्षित महसुश हुन दिनु हुँदैन। गुटको व्यवस्थापन भनेको यही हो। कांग्रेसमा यो हुन सकेको छैन।’