अदालतले आलम पूर्पक्षका लागि थुनामा पठायो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएपछि आज जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जना कानून व्यवसायीहरुले बहस गरेका थिए । ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ सहित तीन वटा मुद्दामा निलम्वित सांसद पक्राउ परेका हुन् ।

यसअघि अलामको पक्षबाट पूर्वमहान्यायाधिवक्तासमेत रहेका रमण श्रेष्ठ, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी र कृष्ण घिमिरे भुषणलगायतका कानून व्यवसायीले बहस गरेका थिए ।

१२ वर्ष अघि २०६४ चैत २७ गते रौतहटको राजपुर कुरिया, फरहदवास्थित चुनावको समय घरमा बनाउँदै गरेका बम विष्फोट पछि बम पड्किँदा बमबाट घाइते त्रिलोकप्रताप सिंह र ओसी अख्तरसहित दर्जन बढी व्यक्तिलाई औषधि उपचार गराउन भनी गाउँ निकाल गरी जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ । सोही आरोपमा सांसद आलम सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए ।