माथिल्लो त्रिशुली थ्री ए जलविद्युतबाट ६० मेगावाट विद्युत् उत्पादन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

नुवाकोट र रसुवामा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट आयोजनाको उद्घाटन गरेसंगै व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०–३० मेगावाट) बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ ।

चिनिया एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो ।

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रप अफ कम्पनीज (सिजिजिसी)संग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने बताइएको छ ।