एनसेल टावरमा आगजनी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
दमौली,

तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ ।

बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तस्वीर: तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा अज्ञात समूहले शनिबार राति गरेको आगजनीबाट क्षति भएको उपकरण । आगजनी गर्नेको पहिचान नभएको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।(कृष्ण न्यौपाने)