सूचना प्रविधि विधेयकविरुद्ध ७७ जिल्लामार्फत सरकारलाई बुझायाे कांग्रेसले विराेधपत्र

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ ।

विधेयक सच्याउन माग गर्दै कांग्रेसले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको हो। काठमाडौंमा पनि माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । गएको पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो । उक्त निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालयमार्फत बिरोध पत्र बुझाइएको कांग्रेस सांसद राजेन्द्र केसीले जानकारी दिए । उनले संविधान विरोधी र जनतालाई नकारात्मक असर पर्ने बिधेयकहरु अघि बढाउन नदिने स्पष्ट पारे ।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधानसमेत छ ।