कोरोना भाइरसबाट भयभित हुनुपर्ने स्थिति छैनः विशेषज्ञ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यसबारेमा सचेत गराएका छन्। तर, धेरै डराइहाल्नुपर्ने अवस्था नरहेपनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाब दिएका हुन्।

शनिबार रिपोर्टर्स क्लबमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर, धेरै डराउनुपर्ने अवस्था नरहेको बताए।

कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर, मन्त्रालयले सबै पूर्व तयारी गरेको श्रेष्ठले बताए । ‘कोरोना भाइरस अध्ययनकै विषय बनेको छ। धेरै प्रश्नहरु अनुत्तरित छन् तर, धेरै भयावह स्थिति छैन,’ श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाए।

चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिएपनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ। ‘स्वास्थ्य मन्त्रालय सजग छ। अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो। उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ। उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन,’ श्रेष्ठले भने।

तर, चीनसँगको सिमाना नजिक भएकोले नेपालमा पनि कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाई छ। नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागु भइसकेको श्रेष्ठले बताए।

चीनसँगका नाका तथा त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए। ‘शंका लागेमा सिधै टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौँ। अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँ।’ टेकुमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा रखिएको श्रेष्ठले जानकारी दिए।

‘नसर्ने रोग भए डराउनुपर्थेन। यो रोग सर्ने खालको हो। किटाणु र भाइरसमार्फत सर्ने रोगहरु विगतमा धेरै देखिइसकेको छ। मौसम परिवर्तनले नयाँ रोग देखिने र नेपालमा पनि भित्रिने गरेको छ,’ उनले भने।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए।

अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर, अहिले नयाँ प्रजाति भेटिएको उनको भनाई छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनले दावी गरे।

‘कोरोना भइरस अरु प्रजातिमा पनि छन्। २००३ सालमा सार्स आयो। त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्यो। अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ। हामी तयारी अवस्थामा छौँ,’ उनले भने ।

नेपालमा एक जनामा संक्रमण देखिए पनि ति व्यक्ति चिनबाट आएकाले नेपालमा रहनेलाई संक्रमणको खतरा धेरै नभएको उनको जिकिर छ। ‘नेपालमै संक्रमण भएको हैन। चीनबाट आएको हुनाले देखिएको हो। उहाँबाट अरुलाई सर्ने सम्भावना छैन। उहाँ पनि पूर्ण निको भएर घरमा बसिरहनुभएको छ। यद्यपी व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ,’ पाण्डेले भने। ‘टेकु अस्पताल पूर्ण तयारीमा छ। आवश्यक बेड तयार पारेका छौँ। कसैलाई शंका लागेमा हामी अनुसन्धान गर्न सक्षम छौँ।’

कोरोना भाइरस श्वाँसप्रश्वाससँग सम्बन्धित् भाइरस भएकाले एक मिटरको दुरीसम्म एक व्यक्तिले हाँच्छु गर्दा अर्कोलाई सर्न सक्ने उनको भनाई छ। ‘संक्रमणबाट जागिन सरसफाईमा ध्यान दिनुपर्छ। चीनमा एक हजारभन्दा बढिमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ। तर, पनि धेरै डराउनुपर्ने अवस्था छैन,’ पाण्डेले भने।

रोगसँग लड्ने क्षमता कम भएका वृद्ध, बालबालिका वा अरु विभिन्न रोगबाट ग्रसितलाई छिटो संक्रमण हुन सक्ने पाण्डेको भनाई छ।

रुघा खोकी लाग्यो वा कोरोना भाइरसको आशंका लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निःशुल्क स्वास्थ्य परीक्षण गराउने पनि पाण्डेले जानकारी दिए।

त्यस्तै, कार्यक्रममा सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसको बारेमा जानकारी दिदै चीनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनु नपर्ने बताए।

यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाब दिए। कोरोना भाइरस आपैमा रोग नभै एउटा भाइरस मात्रै भएको उनले बताए।

‘कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो। २००३ मा सार्स, २०१२ मा मर्स देखिएको थियो। २०१९ को अन्तिममा देखिएको हो कोरोना। यसको नाम २०१९ नोबल कोरोना हो,’ उनले भने।

यद्यपी यो भाइरस नयाँ भएकाले धेरै जानकारी भएको बताउँदै उनले तुलनात्मक रुपमा हेर्दा खतरा धेरै नभएको बताए।

उनले यो भाईरसको लक्षणमा एक सय चारभन्दा बढि फरेन हाईटमा ज्वरो आउने, श्वाँसप्रश्वाँसमा अत्यधिक समास्या आउने, रुघा र खोकी लाग्ने मुख्य रहेका छन्।

पुनले नोवल कोरोना भाईरसबाट कसरी आफू र अरुलाई बचाउने भन्नेबारे पनि बच्ने उपायहरु अघि सारेका छन्।

उनले अघि सारेका उपायमा नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाँच्छु गर्दा नाक र मुख छोप्ने, यदि फ्लुजस्तो लक्षण देखा परेमा चिकित्सिकसँग परामर्श लिने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीबाट टाढा बस्ने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने र पशुजन्य मासु तथा अण्डा राम्रोसँग पाकेको मात्रै खाने रहेका छन्।