ए डिभिजन लिग: संकटा क्लबको फराकिलो जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा संकटा क्लबले फराकिलो जित निकालेको छ ।

सातदोबाटोमा बिहिबार भएको खेलमा संकटाले रेलिगेशनमा परेको टिम सरस्वती युथ क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गरे । यस्तै सुवास गुरुङ, टिका राज गुरुङ र रोशन पहाडीले एक एक गोल गरे । संकटाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरे । फराकिलो जितसँगै संकटाले लिगको सुखद अन्त्य गरेको छ । तर, संकटा शीर्ष ६ मा पुग्न भने असफल भयो । संकटाले १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ । सरस्वतीले भने हारबाट शीर्ष डिभिजन लिगको अन्त्य गर्दै ’बी’ डिभिजनमा झरेको छ । पुछारको सरस्वतीले १३ खेलमा मात्र ४ अंक जोड्यो ।

यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो । १३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमापुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । यस्तै पुलिसले लिगको शीर्ष ६ पक्का गरेको छ । लिगमा शीर्ष ६ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिग खेल्ने भएको छ ।