सरकार बनाउँछन् पार्टीले तर बजेट कर्मचारील

काठमाडौं : दुई वर्षभित्र काठमाडौंमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदनसम्म पनि तयार पार्न सकिँदैन । तर महानगर मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले दुई वर्षमा मेट्रो र तीन वर्षमा मोनो रेल कुदाउने घोषणा गर्नुभएको छ । हचुवाकै भरमा रेल कुदाउने सपना बाँडेपछि नागरिक र विज्ञले व्यंग्य गरिरहेका छन् । वातावरणविद् भूषण तुलाधरले ट्विटरमा तीन वर्षभित्र विस्तृत योजना पनि तयार नहुने बताउँदै वाहियात सपना नबाँड्न सुझाव दिनुभएको छ ।

कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले पनि पाँच वर्षभित्र काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गरिसक्नुभएको छ । पाँच वर्ष (आफ्नो कार्यकाल) मा राजधानीवासीले रेल चढिसकेको हुने उहाँको दाबी छ । उहाँले पनि अध्ययन गरेर योजना अगाडि सार्नुभएको होइन । त्यसैले पत्याउने आधार देखिँदैन । विकसित मुलुकमा पनि यति छोटो अवधिमा रेल कुदाउन सम्भव नभएको विज्ञ बताउँछन् । नेपालमा डीपीआर तयार पार्न नै दुईतीन वर्ष लाग्छ ।

जोशी र शाक्यजस्तै स्थानीय तहका उम्मेदवार यतिबेला जनतामाझ लोकप्रिय सपना बाँड्न व्यस्त छन् । आफ्नो पाँचबर्से कार्यकालमा पूरा गर्न असम्भव भएका लोकप्रिय कार्यक्रम उम्मेदवारका एजेन्डा बनेका छन् । जनतालाई सपना देखाउनेमा माउपार्टी नै अग्रपंक्तिमा छन् । स्थानीय तहको चुनावी घोषणापत्रमा स्थानीय कार्यक्रम समेटिनुपथ्र्यो तर घोषणापत्रमा केन्द्रीय स्तरका १० बर्से, २५ बर्से महत्वाकांक्षी कार्यक्रम समेटिएका छन् । दलहरूले घोषणापत्र तयार पार्दा स्थानीय चुनाव नै बिर्सिएको देखिन्छ । घोषणापत्रका कार्यक्रम केन्द्र सरकारले पनि बर्सौं लगाएर सम्पन्न गर्न सक्छ ।

‘स्थानीय निर्वाचनको घोषणापत्र हेर्दा दलहरू संघीय संरचनामा मानसिक रूपमा प्रतिबद्ध र तयार नभएको देखिन्छ’, अर्थविद् रामेश्वर खनालले अन्नपूर्णसँग भन्नुभयो, ‘स्थानीय कार्यक्रम स्थानीय स्तरमै बन्नुपथ्र्यो । घोषणापत्रमा स्थानीय कार्यक्रम समावेश हुनुपथ्र्यो । दलहरूले त स्थानीय चुनावी एजेन्डामा केन्द्रीय स्तरका दीर्घकालीन कार्यक्रम समावेश गरेका छन् ।’दलहरूले स्थानीय कार्यक्रम केन्द्रबाट लाद्न खोजेपछि संघीय संरचना भाषणमा सीमित भएको अर्थविद् खनालको बुझाइ छ । नेपालको संविधानले स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाउन जोड दिएको छ । यसका लागि २२ वटा विषयगत क्षेत्राधिकारसमेत तोकिएको छ तर दलहरूको घोषणापत्र बनाउँदा यसतर्फ ध्यान नपुगेको देखिन्छ ।