हिमाल दैनिक
आङदम्बेको प्रश्नः तीनवटै गुटको सहमतिमा भएको निर्णयप्रति विरोधको यो नौटंकी किन?
23905377_1876068299093683_2228190035366599825_n
नेपाली कांग्रेसका नेता एवं केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले कसैलाई पनि आग्रह वा पूर्वाग्रहका आधारमा नभई प्राप्त तथ्य र प्रमाणका आधारमा समितिले अनुशासनको कारबाही गरेको स्पष्टिकरण दिएका छन्। गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उत्रिएको आरोपमा तनहुँका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेल्धुराका रामबहादुर विष्टलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निश्कासन गरेको विषयमा कतिपय नेता तथा कार्यकर्ताले आलोचना गरेपछि संयोजक आङ्दम्बेले यस्तो प्रक्रिक्रिया दिएका हुन्। हिमाल दैनिकसँग कुरा गर्दै आङ्दम्बेले भने, ‘समितिले आरोपित व्यक्तिहरुको बारेमा प्राप्त तथ्य, प्रमाण, आसन, भाषण सबै अध्ययन र अनुसन्धान गरेपछि त्यहि तथ्य र प्रमाणका आधारमा निर्णय गरिएको हो।’ अनुशासन समितिले गरेको निर्णयप्रति कसैको असहमति भए उनीहरुले पार्टी विधान अनुसार, केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिन सक्ने व्यवस्था रहेको बताउँदै उनले त्यसपछि अन्तिम निर्णय केन्द्रीय कार्यसमितिले गर्ने पनि बताए। कतिपय नेता तथा कार्यकर्ताले कारबाहीको विषयमा व्यक्त गरेको टिप्पणीबारे प्रतिक्रिया दिँदै उनले पार्टी विधानमा रहेको व्यवस्थालाई समेत लत्याउँदै नेताहरुले सर्वसम्मतीमा मात्रै निर्णय लिन बाध्य बनाइएको अनुशासन समितिले पछिल्लो निर्णय पनि सर्वसम्मत गरेको बताए। ‘समितिको निर्णयप्रति कसैको आग्रह वा पूर्वाग्रह पनि हुन सक्दछ। तर, समितिमा पाँचै जना सदस्यको सहमति पश्चात हस्ताक्षर गरी निर्णय गरिएको छ,’ उनले थप्दै भने, ‘यो भनेको पार्टीभित्र रहेका तीनवटै गुटका नेताहरुको सहमति हो।’ समितिले अनुशासनको कारबाही गर्नुअघि विगत लामो समयदेखि उक्त विषयमा अध्ययन, अनुसन्धान र छलफल गर्दैआएको बताउँदै उनले समितिको निर्णयबारे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासँग पनि परामर्श र पूर्वजानकारी दिएको बताए। नेता जोशी, ओझा र विष्टमाथि अनुशासनको कारबाहीमा तीनवटै गुटका नेताहरुको सहमति भएको दोहोर्याउँदै उनले भने, ‘यदी कुनै गुट वा गुटगत नेताले समितिको निर्णय प्रक्रियामा असहमति छ भनेर विरोध जनाएको भए समितिले निर्णय गर्ने त परैको कुरा बैठक समेत बस्दैनथ्यो। पार्टीभित्र देखिएका तीन आधिकारिक गुटका नेताहरुको प्रतिनिधित्व गर्ने समितिका सबै सदस्यहरुले सर्वसम्मत निर्णयमा हस्ताक्षर गरिसकेपछि कुनै गुट वा उपगुटका नेताहरुले आसन्न महाधिवेशनमा घाटा, नाफा र जोड, घटाउको आधारमा गरेको विरोधको औचित्य छैन।’ साथै उनले भने, ‘यो निर्णय हुनु अघि तीनै गुटका नेताहरुसँग समिति सदस्यहरुले भेटेर प्राप्त तथ्य, प्रमाणबारे बताएको थियो भने फेरि यो विरोधको नाटक किन?’
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update