सधैँभरी नेतृत्वको निर्देशनमा कहिले गाई, कहिले हलो त कहिले छातामा भोट हालेर पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका बाबु/छोरालाई जिताउन बाध्य धनकुटाका काग्रेसीलाई अब त्यो बाध्यताबाट मुक्ति मिल्ने भएको छ।
पञ्चायतकालकाे लामो राजनीतिसँगै बहुदलीय प्रजातन्त्रकाे पनर्स्थापनापछि (राष्ट्रिय प्रजातन्त्र पार्टी) राप्रपाको नेतृत्व गर्दै आएका सूर्यबहादुर थापाको अवसानपछि उनका छोरा सुनिलकुमार थापा कांग्रेसमा विधिवत् प्रवेशकाे तयारी भइरहेकाे छ। उनकाे कांग्रेस प्रवेशपछि धनकुटाका कांग्रेसीलाई रुख छोडेर अरुकाे चिन्हमा भोट हाल्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो।
विभिन्न चिरा र गुटमा विभाजित राप्रपा एकीकरणपछि पार्टीमा खासै महत्वपूर्ण पद नपाएर रुष्ट भएका थापा आजदेखि विधिवत रुपमा नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका हुन्।
नेपाली कांग्रेसले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठन गरेको एउटा टोलीले थापासँगको सहमतिलाई टुंगोमा पुर्याउँदै आज ३ बजे विधिवत पार्टीमा प्रवेश गराउँदैछ।
कांग्रेस स्रोतका अनुसार, उनलाई पार्टीमा भित्र्याउनु अघिनै राप्रपासँगको आवद्धताबाट अलग्गिन भनेको थियो। कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच केही समय अगाडि भएको पार्टी एकीकरण पश्चात गठन भएको १३ सदस्यीय राप्रपा कार्यसम्पादन समितिमिा नअटाएका सुनिल थापाले शनिबार मात्रै धनकुटा पुगेर पार्टीसँगको सबै आवद्धता त्याग गरेको पत्र नेताहरुलाई पठाएका थिए।
त्यसका अतिरिक्त, उनकाे पक्षमा भएका धनकुटाका राप्रपा नेता, कार्यकर्ताले पनि उनीसँगै पार्टीबाट राजीनामा दिएर कांग्रेसमा सदस्यता लिन तयार भएका छन्।
उनीसँगै कुनै समय गृह राज्यमन्त्रीसमेत बनेका सिन्धुपाल्चोका विष्णुविक्रम थापालगायत केही नेताले पनि राप्रपाबाट राजीनामा दिएर कांग्रेस प्रवेशमा सुनिल थापालाई साथ दिने भएका छन्। कांग्रेसमा भएको छलफलमा थापालाई सहमहामन्त्री पदमा जिम्मेवारी दिने भएको छ।
यसरी उनलाई पार्टी प्रवेश गराउनु अघि सभापति शेरबहादुर देउवाले आफ्नाे निवासमा मंगलबार बिहान पार्टी पदाधिकारीहरूकाे बैठक बाेलाएका थिए।
थापाले आफुसँगै आउने केही पूर्व राप्रका सदस्यलाई पनि केन्दीय सदस्य बनाउन जोड गरिरहेका छन्। जसले कांग्रेसका केही पुराना नेतालाई कुडाँउने भएको छ।
४८ साल पछिका सबै निर्वाचनमा कहिले कमजोर उम्मेदवार खडा गरेर त कहिले अर्कैलाई सहयोग दिँदै आएका धनकुटाका कांग्रेसीले बल्ल मुख नहेरी रुखमा खुलेर भोट हाल्न पाउने भएका छन्।
७० सालको निर्वाचनमा पनि कांग्रेस संसदीय दलले धनकुटा कांग्रेसका नेता कमोड फागोलाई टिकट दिँदै मनोनयन दर्ता गर्नका लागि खर्च स्वरूप एक लाखसमेत दिएर पठाएको थियो । तर, उनी पार्टी कार्यालयको गेटमा नपुग्दै तत्कालिन पार्टी सभापति शुशील कोइरालालाई सूर्यबहादुरले फोन गरेपछि फागोको टिकट खोसिएको थियो। र सुनिल थापाले कांग्रेसकाे मत लिएर दाेस्राे संविधान सभामा प्रवेश गरी राष्ट्रिय राजनीतिमा स्थापित भएका थिए। ७४ को निर्वाचनमा पनि कांग्रेसले उम्मेद्वार नदिएरै सुनिललाई सघाएको थियो।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय