राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सैद्धान्तिक दर्शनप्रति असहमत रहेको बताउँदै पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा नेपाली कागं्रेसमा प्रवेश गरेका छन्।
मंगलबार कांग्रेस केन्द्रीइ कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापासहित राप्रपा छाडेर आएका केहि केन्द्रीय तथा जिल्लास्तरिय नेताहरुले कांग्रेसको सदस्यता लिएर प्रजातान्त्रिक आन्दोलनमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
थापासहित १३ जनालाई सभापति शेरबहादुर देउवाले पार्टीको साधारण सदस्यता दिँदै टिका लगाइदिए भने पार्टी नेता रामचन्द्र पौडेलले उनीहरुलाई फुलको माला लगाइदिएर स्वागत गरे।
राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्र स्थापनाको सिद्धान्त अंगाल्ने निर्णय गरेपछि नयाँ संविधानले तय गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएका थापाले असहमति जनाउँदै आएका थिए।
राप्रपा नेतृत्वसँग मतभेद भएपछि तीन गुटमा विभक्त राप्रपाबीचको एकीकरण पश्चात गठित कार्यसम्पादन समितिमा थापाको नाम अटाएको थिएन।
त्यसपछि देशको लोकतान्त्रिक शासन व्यवस्थाको हिमायती नेपाली कांग्रेस र यसको नेतृत्वसँग चरणवद्ध वार्ता गरी थापाले अन्ततः कांग्रेसमा सहमहामन्त्रीको जिम्मेवारीसँगै थप पाँच आफ्ना सहयोगीलाई केन्द्रीय सदस्य तथा दुई जनालाई आमन्त्रित सदस्य बनाउने आन्तरिक सहमति बनाएर आज नयाँ राजनीतिक यात्रा सुरु गरेका हुन्।
उनीसँगै आजको कार्यक्रममा राप्रपा छाडेर रामकृष्ण भट्टराई मोरङ, विष्णुविक्रम थापा सिन्धुपाल्चोक, बाबुराम बस्नेत भोजपुर, बृजलाल यादव बारा, दिलीप राई झापा, राज्यलक्ष्मी श्रेष्ठ नुवाकोट, चर्तुमान विक झापा, रामपदारथ साह सर्लाही, सुरेश बस्नेत भोजपुर, प्रतिमा राणा क्षेत्र रुपन्देही, नारायण राउत भोजपुर र इन्द्रबहादुर तामाङ सिन्धुपाल्चोकले पनि सदस्यता लिए।
कोरोना भाइरसको संक्रमणका कारण सामाजिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा आज उनीहरुबाहेक करिब पाँच दर्जन सदस्यहरुको नाम मुख्यसचिवले बाचन गर्दै उनीहरुलाई सम्बन्धित जिल्लामा आयोजित कार्यक्रममा सदस्यता प्रदान गरिने जानकारी दिए।
पार्टी प्रवेश गराउदै कांग्रेस सभापति देउवाले लोकतान्त्रिक शक्ति एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए।
देउवाले देशमा लोकतन्त्र विरोधी शक्ति राज्यसत्तामा रहेको र उसले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्त विपरित स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्नेदेखि नागरिकको मौलिक हक कुण्ठित गर्नेगरी टेलिफोन ट्यापिङ गर्नेसम्मका कानूनी प्रावधान अघि सारेको आरोप लगाए।
उनले प्रजातन्त्रका मूलभूत सिद्धान्तहरु संकटमा परेका कारण लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएर त्यसको प्रतिरोध गर्न जोड दिए।
त्यसैगरी सभापति देउवाले राप्रपा परित्याग गरेर कांग्रेसमा आएका थापालाई पार्टीमा सहमहामन्त्री र अरु नेताहरुलाई कुनै भेदभाव नगरी हैसियत अनुसारको जिम्मेवारी र भूमिका दिने आश्वासन दिए।
त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन लोकतान्त्रीक शक्तिहरु एक हुनुपर्ने बताए।
त्यस्तै पार्टी प्रवेश गर्दै थापाले अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको बताए।
नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन आफु कांग्रेसमा प्रवेश गरेको उनले बताए।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा २००८ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र ०१० सालमा धनकुटाको कोषााध्यक्ष रहेको स्मरण गर्दै थापाले कांग्रेसले लिएको प्रजातान्त्रिक प्रणालीलाई साथ दिन आफू कांग्रेस प्रवेश गरेको बताए।
मन्तव्यका क्रममा उहाले कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई स्मरण गरेका थिए।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय