पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापाले बाबुकै बलबुतोमा नेपालको राजनीतिमा स्थापित दल परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेशको तयारी गरिरहेको विषयलाई लिएर कतिपय असन्तुष्ट कांग्रेसी नेता तथा कार्यकर्ताले नेतृत्वको निर्णयप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरिरहेका थिए।
विशेषगरी जनमत संग्रहमा बहुदलीय व्यवस्थालाई षडयन्त्रपूर्ण ढंगले पराजित गरेर निरंकुश पञ्चायती व्यवस्थाको मलजल गराउनेदेखि पार्टीका संस्थापक नेता बी.पी. कोइरालालाई फाँसी दिनुपर्छ भन्ने सूर्यबहादुर थापाकै छोरा सुनिललाई पार्टीमा भित्र्याएर सहमहामन्त्री पदको जिम्मेवारी दिने विषयमा असन्तुष्ट पक्षका कार्यकर्ताले नेतृत्वप्रति कटाक्ष समेत गरिरहेका थिए।
तर, त्यसका बाबजूद मंगलबार आफ्ना समर्थकहरुलाई साथ लिएर कांग्रेस मुख्यालय सानेपा पुगेका सुनिलले पार्टी प्रवेश गर्दै बोल्ने क्रममा त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई नै भावुक बनाइदिएर कतिपयले लगाइरहेको आरोपको दरो प्रतिवाद गर्न सफल भए।
जीवनको अधिकांश समय विदेशी संस्थामा कार्यरत रहेर बाबुको राजनीतिक जीवनको उत्तराद्र्धमा विरासत धान्न राजनीतिमा होमिएका सुनिलले कांग्रेस मुख्यालयमा आयोजित कार्यक्रममा बोल्ने क्रममा कुनै स्थापित राजनेता भन्दा कम नभएको छनक दिए।
सभापति शेरबहादुर देउवादेखि पार्टीका शीर्ष नेता र पदाधिकारीलाई सम्बोधन गर्ने क्रमको सुरुवातमै जनतालाई रैती र प्रजाबाट मुक्ति दिलाई अधिकार सम्पन्न नागरिक बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसमा प्रवेश गर्न पाउँदा आफूलाई अपार हर्ष र खुशी लागेको बताए।
लिखित भाषण बाचन गर्दै उनले कुनै समय आफ्नै बाबु सूर्यबहादुरको कट्टर विरोधीका रुपमा परिचित कांग्रेसका संस्थापक नेता बी.पी. कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि र सुशील कोइराला लगायतका नेतादेखि आफ्ना पिता सूर्यबहादुरको नाम लिएर श्रद्धाञ्जली व्यक्त गरे।
साथै उनले त्यी नेताहरुले अंगालेको आदर्श र मार्गदर्शनलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले देशको वर्तमान परिस्थिती भयावह अवस्थामा रहेको र प्रजातान्त्रिक शक्ति कमजोर भएकोदेखि देशमा अधिनायकवाद मौलाएर नेपाल प्रजातान्त्रिक विश्वबाट टाढिँदै गएर देश गम्भीर मोडमा पुगेको बताए।
साथै उनले विदेश नीतिमा सन्तुलन गुमेको, लोकतान्त्रिक संस्था र त्यसका आधारभूत संस्था कमजोर र धरासायी हुँदै देशको आथिृक अवस्था पनि दयनिय भइरहेको बेला लोकतान्त्रिक शासन पद्धतीमा थप उर्जा दिनु आफ्नो कर्तव्य भएकोले कांग्रेसमा प्रवेश गरेको बताए।
आफ्ना बाबु सूर्यबहादुर थापाले विगतमा संसदवादी प्रजातान्त्रिक शक्तिहरुबीच बृहत एकता र सहकार्य गरी उक्त लोकतान्त्रिक मोर्चाको नेतृत्व कांग्रेसले लिनुपर्छ र यसले मात्रै नेपालका पावर व्यालेन्स गर्छ भन्ने दृष्टिकोण राखेको बताए।
‘तर, आज राप्रपाले यो दृष्टिकोणलाई पन्छाएर गएकोले एउटा मोर्चा भन्दा कांग्रेसमै आवद्ध हुने निर्णय हामीले गरेका हौँ,’ उनले भने।
देशमा लोकतन्त्रको संस्थागत विकास र सम्बद्र्धन गर्ने दायित्व कांग्रेसकै भएको बताउँदै उनले आफू यस कार्यमा प्रतिबद्ध भएर लाग्ने बताए।
यसरी बोल्ने क्रममा उनले १२ सय वर्षअघि पर्सियाका केही व्यक्तिहरु आफ्नो थलो छाडेर गुजरातमा जाँदा त्यहाँका राजा÷महाराजाले उनीहरुलाई बस्ने ठाउँ छैन फर्केर जाउँ भनि एक गिलास दूध दिएको कथा सुनाए। जसमा पर्सियन आगन्तुकले गिलासको दूधमा केही चम्चा चिनी घोलेर त्यहि चिनी र दूध जस्तै मिलेर बस्ने सन्देश दिएजस्तै आफू कांग्रेसमा मिलेर बस्न आएको बताए। साथै उलने पार्टीमा कसैको भाग खोस्न नभई मिलेर काम गर्न आएको बताए।
त्यसको लगत्तै इतिहासको तितो कथा र व्यथा विर्साउने गरी थापाले आफ्नो परिवारको ऐतिहासिक सम्बन्धलाई उप्काएर आफ्नो आगमनले खुशी नभएका कांग्रेसजनलाई पनि पुनः एकपटक सोच्न बाध्य बनाइदिए।
‘आज म यो कुरा सम्झिँदा गौरवान्वित भएको छ, कि सायद २०१० सालदेखि म र मेरो परिवारको नेपाली कांग्रेससँगको नाता टुटेको थियो। मेरो पिता सायद ८ सालतिर विराटनगर, मोरङ कांग्रेसको कोषाध्यक्ष र १० सालतिर धनकुटा कांग्रेसको सभापति हुनुहुन्थ्यो। आज यति लामो अन्तरालपछि झण्डै ६५÷६६ वर्षपछि आज जुन नाता जोड्न पाएँ, जुन सौभाग्य तपाइहरुले दिनु भयो यसका लागि धनकुटाका सम्पूर्ण कार्यकर्ताको तर्फबाट धन्यवाद दिन चाहन्छु,’ उनले भने।
उनले कांग्रेससँग टुटेको साइनो फेरि राम्रोसँग जोडिन्छ भन्ने विश्वास लिएको बताए।
उनले बी.पी.को राष्ट्रिय मेलमिलापको नीति तथा सूर्यबहादुर थापाको परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढ्न तयार भएर कांग्रेसमा सहभागी भएको बताए।
राप्रपाबाट अलग्गिएको कारण प्रष्ट्याउँदै उनले आफूहरुले पनि विगतमा संविधान निर्माण पंक्रियामा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा सहभागी भएर ्सक्रिय भूमिका निर्वाह गरेको पनि बताए।
तर, अहिले राप्रपाले संविधानले तय गरेको बाटो छाडि अर्को बाटो लिएको कारण आफू लोकतान्त्रिक शक्ति कांग्रेसमा आएको बताउँदै राप्रपाका नेता कार्यकर्तालाई पनि कांग्रेसमा सहभागी हुन आग्रह गरे।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय