हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसँग आवद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायत ९ वटा भातृ संस्था कार्यकाल ६ महिना थप गरेका छन्। कांग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार, यसअघि विभिन्न समयमा थप गरिएको कार्यकालभित्र संस्थाको अधिवेशन गर्न नसकेका विभिन्न भातृ संस्थाको म्याद आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेगरी समाप्त भएको मितिले ६ महिना थप गरिएको छ। यसरी म्याद थपिएका संस्थाहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाज रहेका छन्। यदि यी संस्थाको नेतृत्वलाई पार्टी नेतृत्वले तत्काल अधिवेशनको वातावरण बनाउन अथवा कोरोना कहरको असर विद्यमान रहिरहेमा यी संस्थाहरुको अधिवेशन पार्टीको आगामी फागुनमा तय गरिएको १४औं महाधिवेशन अगाडि असम्भवःप्राय देखिएको छ। आज म्याद थपिएका कांग्रेसका भातृ संस्थामध्ये सबै भन्दा महत्वपूर्ण संस्थाको रुपमा लिइने तरुण दलको करिब चार वर्ष अघि पोखरामा सम्पन्न महाधिवेशनबाट नेताहरुबीच भागवण्डाका आधारमा चार सदस्यीय पदाधिकारी चयन भएपनि त्यसपछिका दिनमा अन्य पदाधिकारी तथा सदस्य मनोनयनमा सहमति नहुँदा आफ्नो कार्यकार्य अपूर्णतामै गुजारेको थियो। त्यसैगरी ६ महिना अघि सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच भएको सहमति र भागवण्डामा नेविसंघका केही पदाधिकारी मनोनित भएपनि त्यसपछि बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयनका लागि कुनै पनि नेतालाई तातो नलाग्दा संस्थाले पूर्णता मात्र पाएन। त्यहिबीचमा गत फागुन, चैतदेखि कोरोना भइरसको महामारीको त्रासले राजनीतिक गतिविधि प्रभावित भएपछि उक्त तदर्थ समितिले पनि ६ महिनाको कार्यकाल व्यर्थमै विताएको हो। तर, करिब १४ वर्षदेखि अधिवेशन नगरी नेताहरुको आर्शिवादमा म्याद थप गर्दै आएको किसान संघ र अधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरु चयन गरेर पनि अधिवेशन नगरी ७ वर्ष लामो समय गाल्दै आएको दलित संघको पनि म्याद थप भएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update