नेपाल–भारतको संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
सोमबार काठमाडौंमा भर्चुअल माध्यमबाट भएको बैठकले अहिलेसम्म आयोजनाहरुको प्रगतिलाई सन्तोषजनक मान्दै आवश्यकताअनुसार थप सहकार्य गरेर परियोजनाहरुलाई टुंग्याउने भन्ने छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गर्नुभएको थियो भने भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए ।
बैठकपछि विज्ञप्ति निकाल्दै भारतीय दूतावासले सन् २०१६ मा भारतीय परियोजनाहरुको प्रगतिको संयुक्त निगरानीको लागि बनेको उक्त संयन्त्रको बैठक बसेको जनाएको छ । दूतावासले पछिल्लो एक वर्षमा भारत सरकारले नुवाकोट र गोरखामा भूकम्प प्रभावितहरुलाई ४६ हजार ३०१ घर निर्माणमा सहयोग गरेको जनाएको छ ।
भारत सरकारले नेपालका भूकम्प प्रभावितहरुलाई ५० हजार घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको थियो । बैठकमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरुको अनुगमन र समीक्षा गर्ने, केही अप्ठेरो अवस्था देखिए समस्या समाधान गर्ने सहमति भएको छ । भारतले नेपालमा लगानी गरेको परियोजनाहरुको कामको नतिजा राम्रो नभएपछि दुई सरकारबीच उक्त संयन्त्र बनाउने निर्णय भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय