देशभरका संचारमाध्यम र संचारकर्मीले आचारसंहिता उलंघन गरेको आरोपमा उनीहरुमाथि कारबाहीको छडी चलाउने जिम्मेवारीमा रहेका नेपाल प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठमाथि नै काउन्सिलमा उजुरी परेको छ।
नेपाली कांग्रेसका सांसद एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफ्नो विरुद्ध तथ्यहिन समाचार प्रकाशित गरेर आफ्नो छवि धुमिल बनाउन लागि परेको आरोप लगाउँदै श्रेष्ठ र उनको साप्ताहिक जनआस्था तथा जनआस्था डटकम विरुद्ध काउन्सिलको ऐनमा उल्लेखित व्यवस्था अनुसार कारबाहीको माग गरेका हुन्।
चौधरी ग्रुपले दिएको जानकारी अनुसार, सांसद तथा उद्यमी चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गर्ने जनआस्था साप्ताहिक र जनआस्था डटकम विरूद्ध चौधरी ग्रुपले भदौ ९ गते प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको हो।
उक्त पत्रिकाले विगत लामो समयदेखि नेपालका ख्यातीप्राप्त उद्यमी चौधरीका बारेमा झूटा समाचार प्रकाशित गर्र्दै आएको आरोप लगाइएको छ।
पछिल्लो समयमा जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनताः चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको ‘मुहान’मा बल्ला आक्रमण’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो।
चौधरीले त्यी सबै समचारहरु पूर्णतया झुटा र तथ्यहिन रहेको दाबी गर्दै समाचार प्रकाशित गरेर चौधरी ग्रुपका अध्यक्षको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा रहेको ख्यातीमा प्रतिकुल प्रभाव पार्ने दुश्प्रयास गरिएकाले जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम हदैसम्मको सजाय माग गरेका हुन्।
केही दिन अघि सरकारले प्रेस काउन्सिल ऐनमा रहेको प्रावधानको विपरित नियमावली बनाएर श्रेष्ठलाई कार्यबहाक अध्यक्षबाट हटाउने निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाइदिएको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय