नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आगामी १४औं महाधिवेशनलाई दुई वर्षपछि हुने राष्ट्रिय निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्न जरुरी भएको बताएका छन्।
सवल कांग्रेसका लागि आन्तरिक लोकतन्त्रः सिद्धान्त र व्यवहार विषयमा प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको भर्चुअल मिटिङमा बोल्दै उपसभापति निधिले यसका लागि पार्टी र देशभित्र वैचारिक आधारमा एकताको आवश्यकता रहेको बताए।
कांग्रेसको नेतृत्वमा निर्माण भएको नयाँ संविधानमा रहेको राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन प्रणाली धर्मनिरपेक्षता, अहिंसा र शान्ति जस्ता आधारभूत मान्यताको रक्षा र जनताको लोकतान्त्रिक अधिकार सुनिश्चितताका लागि पनि पार्टीको आगामी महाधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आवश्यक रहेको बताए।
उपसभापति निधिले यसरी सर्वसम्मत नेतृत्व चयन गर्न सके अहिले देखिएको गटबन्दीको हदसम्मको व्यवस्थापनसँगै वैचारिक अस्पष्टताको समस्या अन्त्य हुने दाबी गरे।
कतिपय सहभागीले पार्टीभित्र चरम गुटबन्दी रहँदा संगठन कमजोर भएको भन्ने चासो र चिन्ताबारे जवाफ दिनेक्रममा उपसभापति निधिले कुनै पनि क्षेत्रमा गुटबन्दीको पूर्ण अन्त्य सम्भव नभएको बताए।
‘गुटबन्दीको अन्त्य पूर्णरुपले कहीँ कतै हुनै सक्दैन। आफ्नो मन मिल्ने साथीसँग सम्पर्क, सम्वाद गर्ने गरिन्छ। पार्टीभित्र गुट छ, त्यो स्वीकार गर्दै निरन्तर सम्पर्क र सम्वादमार्फत सहमतिको उपाय खोजेर गुटको व्यवस्थापन गर्ने जरुरी छ,’ उनले भने।
कांग्रेसको नेतृत्वमा बनेको नयाँ संविधान र यसले निर्धारण गरेको संघीयताको प्रावधानलाई अहिलेको सत्तारुढ दल र उसको सरकारले अझै पनि संविधान अनुसारको अधिकार प्रदेशले पाउन नसकेको उनले बताए।
संविधानको प्रावधान अनुसार प्रदेशमा निर्माण गर्नु पर्ने संरचना बनाउन संघीय सरकार र राजनीतिक दल गम्भीर रुपमा लाग्न नसकिरहेको पनि बताए।
‘यो विषयमा जुन भूमिका निर्वाह गर्ने कम्युनिष्टको होइन। उनीहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने शक्ति हुन्। उनीहरुबाट यो संघीयताको संरक्षण र प्रवद्र्धन हुनै सक्दैन। हामीले संविधान बनाउँदा जुन भूमिका खेल्यौँ त्यसको कार्यान्वयनका लागि चुनावी मुद्दा बनाउन नसक्दा गत निर्वाचनमा पराजित भयौँ,’ उनले भने।
‘यो संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसकै हो। यो प्रणालीमा अनेकन कमिकमजोरीका बाबजूद पनि त्यसको रक्षा गरी परिमार्जन गर्दै अघि जाने जिम्मेवारी पनि कांग्रेसकै हो,’ उनले भने।
कांग्रेस पार्टी देशको मात्रै पुरानो लोकतान्त्रिक पार्टी नभई दक्षिण एसियाकै एकमात्र लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै उनले भारत, पाकिस्तान वा अरु कुन मुलुकमा यसरी लोकतान्त्रिक प्रणाली र पद्धतीबाट नेतृत्व चयन गर्ने गरेका छन् भनि प्रश्न समेत गरे।
आफ्नो पार्टी नै एक मात्र लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै उनले आउने चुनावमा पनि कांग्रेसले जित्न सकेन भने त्यो चुनावले सरकार बनाउने लक्ष्य भन्दा पनि यो संविधान र राजनीतिक प्रणालीको स्तथायित्वमाथि वर्तमान सत्तादेखि प्रतिगामी दक्षिणपन्थी शक्तिहरुबाट खतरा कायम रहने बताए।
यही वैचारिक आधारमा आगामी अधिवेशनमा सर्वसम्मतीले नेतृत्व चयन हुन सक्यो भने अहिले देखिएको गुटबन्दीको समस्यादेखि वैचारिक आधारमा देखिएको अस्पष्टताको समस्या पनि समाधान हुने कुरा सभापति शेरबहादुर देउवादेखि अन्य नेताहरुसँग आग्रह गरेको जानकारी निधिले दिए।
साथै उलने आगामी चुनावमा मतदातालाई रुखसँग र कार्यकर्तालाई चारतारे झण्डासँग जोड्न जरुरी भएको पनि बताए।
पार्टीको लोकतान्त्रिक पद्धतीलाई देश र जनताको अपेक्षा सम्बोधन गर्ने खालको सांगठनिक संरचना र नेतृत्व बनाउन जरुरी भएको बताए।
कांग्रेसले लोकतन्त्र, समाजवाद र राष्ट्रियता यी तीन सर्त छाड्न सक्दैन भन्दै यी तीनवटै मान्यताको केन्द्रविन्दुमा जनता रहने र यसको आधार र लक्ष्य पनि जनता नै भएको बताए।
नयाँ संविधानले राजतन्त्रको ठाउँमा गणतन्त्र, एकीकृत शासन प्रणालीको सट्टा संघीयता, धर्मनिरपेक्षता, समाजवाद र समावेशी समानुपातिक प्रतिनिधित्व, मिश्रित निर्वाचन प्रणाली, जस्ता सिद्धान्तलाई संविधानले अंगिकार गरेको र यसका लागि अहिंसा र शान्तिबाहेक अरु मार्ग हुन नसक्ने बताए।
‘यसका बाबजूद अहिले पनि कांग्रेसभित्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता जस्ता विषयमा अन्यौलता रहेको छ,’ उनले भने।
कतिपयले कांग्रेस पार्टी अहिले बी.पी.को पथ छाडेर माओवादीको पछि लाग्दा यो अवस्थामा पुग्यो भन्ने गरेको बताउँदै यसरी बोल्नेहरुप्रति नै प्रतिप्रश्न गर्दै उनले भने, ‘के यो परिवर्तन ठिक थिएन? प्रतिकूलताका बाबजूद पनि हामीले कम्युनिष्ट प्रणाली र कम्युनिष्टको संविधान बनाउन नदिएर लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल हुनु गलत थियो?’
तर, कांग्रेसकै तलदेखि माथिसम्मका नेताहरुमा पनि कन्फ्युजन रहेको बताउँदै उनले कि यो व्यवस्था हामीले ल्याएको हो कि लतारिएर ल्याएको भन्ने गरेका छन्। यदि जनतामा गएर हामी लतारिएर ल्याएको भन्ने हो भने जनता पनि किन लतारिनेसँग पछि लाग्दछ भनि प्रश्न समेत गरे।
संविधान ल्याएपछि तीन तहको चुनाव भयो अब हाम्रो काम सकियो भन्ने सोचाई गलत भएको बताए।
साथै उनले ०४६ सालको परिवर्तन पश्चात पार्टी नेता ढुंडीराज शास्त्रीले त्यतिबेला दुई सदनात्मक व्यवस्था र सरकार भएर मात्र हुँदैन, पाँच विकास क्षेत्रमा पाँचवटा संसद बनाउँ भनि अघि सारेको विचारप्रति कसैले विचार पुर्याउन नसक्नु आफूहरुको कमजोरी भएको बताए।
आजको भर्चुअल मिटिङमा विनय कुशियतले विषय प्रस्तुत गरेका थिए भने शान्तिकृष्ण अधिकारले टिप्पणी गरेका थिए।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय