हिमाल दैनिक
सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असोज १ गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय गरेको जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि नचलाउने निर्णय गरिएको उनले बताए । त्यस्तै असोज १ गतेसम्मका लागि पनि आन्तरिक हवाइ उडान सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बैठकले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागिएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भएरगरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरीचिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको खतिवडाले जानकारी दिए । बैठकले वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा रोकिएको केराउ र मरिचको आयात फुकुवा गरेको छ । त्यस्तै सरकारले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update