हिमाल दैनिक
ललितपुर महानगरभित्र भोलि शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू
CKK_KTM_Balkumarif (2)
जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि शुक्रबार जिल्लाका केही भागमा कर्फ्यू लगाउने निर्णय गरेको छ। शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको बल्खु पुल, मनहरा पुलदेखि भित्र महानगरको चक्रपथ क्षेत्रमा कर्फ्यू लगाउने निर्णय भएको ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार भोलि एक दिन महानगरभित्र बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको हो। यद्यपी ललितपुर जिल्ला पूरैमा भने कर्फ्यू नहने उनले स्पष्ट पारे। बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले उक्त निर्णय गरेको बस्नेतले बताए। बस्नेतका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो। बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो। कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर सरकारको निर्णयविपरित निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि भोलि पनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update