ललितपुर : शुक्रबार बिहानै ४ बजेदेखि ललितपुरमा कर्फ्यु जारी गरिएको छ। बिहीवार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यू लगाइएको हो। कर्फ्यु लगाइएको कारण अहिले ललितपुर महानगरको चक्रपथ भित्र सुनासान छन्। सुरक्षाकर्मी, अत्यआवश्यक सवारी साधनहरु बाहेक अन्य सवारी कुदेका छैन। बजार पूर्ण रुपमा बन्द छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भट्टका अनुसार आवश्यक रुपमा सुरक्षाकर्मी खटाइएको छ। अहिले ललितपुरको अवस्था शान्त छ। कर्फ्यु जारी छ।
बिहानैदेखि ललितपुर प्रवेशमा कडाइ गरिएको छ । चोकचोकमा प्रहरी खटिएका छन् । अत्यावश्यक काममा हिँड्नेलाई पासका आधारमा मात्रै प्रवेश दिइएको छ । जिल्ला प्रशासन कार्यालयले विना पास हिँड्डुल नगर्न आग्रह गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम जिल्ला प्रशासन कार्यालयले कर्फ्युको आदेश गरेको हो। हिजो मछिन्द्रनाथको रथलाई जवरजस्ती तान्न खोज्ने युवा र प्रहरीबीच पुल्चोकमा झडप भएको थियो। कोरोना संक्रमण फैलिएका कारण मछिन्द्रनाथको जात्रा रोकिएको छ।
आज जारी कर्फ्यु बलेखुदेखि मनहरापुलसम्मको चक्रपथ भित्र पर्ने सबै क्षेत्रमा लागू गरिएको छ। चक्रपथ बाहिरको जनजीवन सामान्य रहे पनि मुल शहरी क्षेत्र सुनसान बनेको छ।
कर्फ्युको आदेश उल्लंघन गरेमा सुरक्षामा खटिएका सुरक्षा अधिकारीले गोली हान्न सक्ने अधिकारसहित कर्फ्यु लगाइएकाले यस क्षेत्र सुनसान बनेको हो। शुक्रवार (आज) राति १० बजेसम्म कर्फ्यु जारी गरिएको छ।
यसैबिच रातो मच्छिन्द्रनाथको जात्राका सबै विधि अहिले रथ भएकै ठाउँमा साङ्केतिक रुपमा गरिँदैछ। त्यसका लागि क्षमापूजा सुरु भएको छ ।
ज्योतिष कृतिमदन जोशीका अनुसार पूजालगायत अन्य सबै विधिको तयारी भइरहेको हो। कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित रातो मच्छिन्द्रनाथको रथयात्रा साङ्केतिक रूपमा पूरा गर्ने सहमतिअनुसार तयारी भएको हो ।
हिजो गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलले ठूलो भिडभाड नगरी जात्राको विधि पूरा गर्ने सहमति गरेको थियो । सहमति अनुसार क्षमापूजा गरी आंशिक रुपमा रथ तानेर जात्राको विधि सकाइने छ ।
जात्राअन्तर्गत भोलि साङ्केतिक रूपमा रथ तान्ने, दिनभरि पूजाआजा गर्ने र रथलाई खटमा राखेर आउँदो २२ गते बुङ्मतीमा पुर्याउने सहमति भएको ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय