हिमाल दैनिक
संस्थापक नेता बीपी कोइरालाको सिद्धान्त र विचारबाट नेपाली कांग्रेसको पछिल्लो नेतृत्व विचलित भएको भन्दै सार्वजनिक रुपमा हुँदै आएको आलोचनाको पार्टी नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले जमेर प्रतिवाद गरेका छन्। बीपी कोइरालाको १०७औं जन्म जयन्तीको अवसरमा बुधबार पार्टी कार्यालयले आयोजना गरेको भर्चुअल मिटिङमा बोल्दै नेताद्वय पौडेल र निधिले पछिल्लो समय देशमा आएको राजनीतिक परिवर्तनसँगै नयाँ संविधान र यसले तय गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बीपीको विचार भन्दा बाहिर नभएको दाबी गरे। पौडेलले भने, ‘बीपीको विचार छोडे वा विचलित भए भन्नेहरुलाई म भन्छु, बीपीको लामो राजनीतिक विचार, संघर्षको यात्राको निचोडमा यो संविधान ल्याएका हौँ। संविधान सभामा संविधान बनाउँदा पनि यसका अक्षर अक्षर, सूत्र, यसका आधारभूत सूत्रहरु निर्धारण केन्द्रीय हाइ कमाण्डले गरेको थियो। जहाँ केपी, प्रचण्ड, माधव नेपाल, उपेन्द्र जस्ता लोकतन्त्र र बहुलबाद विरोध व्यक्तिहरुसँग अक्षर अक्षरमा लडाइ भएको छ। हामीले समावेशीता, व्यक्तिगत स्वतन्त्रता, संघीयता, लोकतन्त्रको पक्षमा उनीहरुलाई ल्याएको हो। यो संविधान बीपी चिन्तनकै निचोड हो। उहाँकै जीवनभरीको संघर्षको उपलब्धि छ।’ उनले पहिलो संविधान सभा असफल हुनु अघि पनि कम्युनिष्ट नेताहरुले अलोकतान्त्रिक संविधान ल्याउन प्रयास गरेकोमा आफूहरुले नमान्दा उक्त सभा विघटन भएको बताए। त्यसपछि पनि आफूले तत्कालिन प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर निर्वाचन गराउनु पर्ने विचार राखेवमोजिम दोस्रो संविधान सभा निर्वाचन गरी कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान ल्याउन सकेकोमा कांग्रेसले गौरवका साथ लिनु पर्ने बताए। उपसभापति निधिले भौगोलिक रुपमा पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई बीपी कोइरालाले ७ सालपछि राष्ट्रको रुपमा भावनात्मक एकीकरण गरेको बताए। बीपीको विचार छाडेको भन्ने आरोपको खण्डन गर्दै उनले राज्यको स्वरुपमा अहिले मात्रै नभइ ७ सालपछिको परिवर्तन पश्चात स्वयं बीपीले नै सुरु गरेको निधिको दाबी थियो। पछिल्लो समयमा पनि लोकतन्त्रप्रति कांग्रेसको प्रतिबद्धताका कारण कांग्रेसकै तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वको सरकारका पालामा कम्युनिष्ट वा निर्दलीय संविधान नबनाई लोकतान्त्रिक संविधान बनाएर सभापति देउवाको नेतृत्वमा उक्त संविधान कार्यान्वयनको लागि निर्वाचन सम्पन्न गराएको बताए। यो संविधानका पाँचवटा आधारभूत विशेषताहरुः गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरेपक्षता, मिश्रीत निर्वाचन भएको बताउँदै उनले प्रश्न गर्दै भने, ‘यदी अहिले बीपी भएको भए यी कुरा उहाँले ठिक छैन भन्नु हुन्थ्यो? अवश्य थिएन।’ नेपाललाई धर्म निरेपक्ष बनाएको विषयमा नेतृत्वमाथि भइरहेको आरोपप्रति प्रतिवाद गर्दै उपसभापति निधिले बीपी कोइरालाको लिखित दस्तावेजका रुपमा रहेको दि मिररमा उनले दिएको अन्र्तवार्ताको प्रसंग उल्लेख गर्दै भने, ‘त्यसमा उहाले भन्नु भएको छ, राजाले नेपाल हिन्दु राष्ट्र भन्नु बेइमानी र झेला हो।’ बीपीले धार्मिक स्वतन्त्रताको वकालत गरेको बताउँदै अहिलेको संविधानमा उल्लेखित धर्म निरपेक्षताको व्याख्यामा धर्म स्वतन्त्रताको उल्लेख भएको बताए। कतिपय पार्टीभित्रैका आलोचकहरुले माओवादीको पछाडि कांग्रेस लतारिएको भनि गरेको आलोचनाको प्रतिवाद गर्दै निधिले भने, ‘यो व्यवस्थाको रक्षा गर्न छाडेर केही साथीहरुले हामी माओवादीसँग लतारिन बाध्य भएर लागेका हौँ भन्ने गर्यौँ भने जनताले लतारिनेलाई किन मत दिन्छ?’ साथै उनले कम्युनिष्टहरुले गणतन्त्र, संघीयता, बहुलबाद र लोकतन्त्रमा विश्वास नगरी जनवादी केन्द्रीयतामा विश्वस गर्ने बताउँदै फेरि पनि कम्युनिष्टहरुले चुनाव जितेमा अहिले प्राप्त परिवर्तन र यसको उपलब्धिको रक्षा हुन नसक्ने दाबी पनि गरे। नेता पौडेलले कुनै पनि विचार समय अनुसार परिवर्तन हुने बताउँदै पहिले जमिनमा पहुँच हुने र नहुनेबीच असमानता भएजस्तै अहिले प्रविधिमा पहुँच हुने र नहुनेबीच असमानता रहेको बताए। साथै उनले आज पनि पार्टीले गाउँमुखी अर्थ नीति र विचारमुखी राजनीति गर्नु परेको बताए। पौडेलले बीपी अलिकति प्रजातान्त्रिक समाजवादी नेता र सन्तुलित विकासको धारणा राख्ने नेता भएको बताउँदै उनलार्ई दमन गर्नेहरुको कारण नेपालको उन्नतीमा बाधा पुगेको दाबी गरे। साथै उनले पार्टी महाधिवेशनको सामुन्नेमा उभिएको अवस्थामा कोरोना कहरले अत्याइराखेको बताउँदै गत महासमितिको समयमा आफूले अघि सारेको प्रस्ताव अनुसार काम अघि बढाएको भए अहिले महाधिवेशनको विषय अन्यौलग्रस्त अवस्थामा नहुने दाबी गरे। यसका बाबजूद उनले विगतमा पनि नेताहरुबीच आपसी झगडा हुँदा सभापति देउवासहित आफू र शैलजाले समन्वयको भूमिका निर्वाह गरेको स्मरण गर्दै पौडेलले अहिले देखिएको विवाद समाधान गरी जतिसक्दो चाँडो महाधिवेशन नगरे स्थानीय निर्वाचनको चपेटामा परिने बताए। तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराइलाई ग्रयाण्डडिजाइनका खलपात्रहरुले चुनाव लडाएर हराएको दाबी गर्दै यस्ता खलपात्रका शक्तिहरुले नेताहरुमाझ खेलिरहने बताए। पार्टीभित्र एकताको पक्षमा आफू रहेको बताउँदै पौडेलले तर त्यसका लागि न्याय, निश्पक्षता र पारदशीर्ताको आधारमा हुनु पर्ने बताए। पार्टी उपसभापति निधिले अहिलेको समस्याविरुद्ध पार्टीलाई सुदृढ बनाउन आगामी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि राखेको प्रस्तावप्रति पौडेलले जवाफ दिँदै सर्वसम्मत नेतृत्वका लागि कहाँ र कसका लागि गर्दा हुन्छ भन्ने आधार र तर्कसहित अगाडि आउन सुझाव दिए। कम्युनिष्ट सत्ताले राज्यको स्रोत, साधन बाँडिचुँडी खाने बाहेक जनताको पक्षमा केही नगर्ने दाबी गर्दै उनले यको प्रतिवाद गर्नै जनताको भरोसा योग्य कांग्रेस बनाउनु पर्नेमा जोड दिए। कोरोना भाइरसको संक्रमणबाट होम आइसोलेशनमा बसेका महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट आगामी अधिवेशनसम्म कायम रहेपनि त्यसपछि त्यो गुट, उपगुटको स्थिति समाप्त पार्न सके पाटी बलियो हुने दाबी गरे।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update