प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गरेका छन् । बिहीबार बालुवाटारमा एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको ब्यवस्थापनको निर्देशन समेत दिएका हुन् ।
घटना घटेको अवस्था देखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा ब्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने उनले बताए ।
प्रधानमन्त्री ओलीले एसिड आक्रमणबाट पीडितहरुको स्वास्थ्योपचारका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने जानकारी दिए । उनले एसिड पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने भन्दै त्यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न निर्देशन पनि दिए । प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानुनी प्रबन्ध गर्ने वताए ।
उनले भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने र सम्भव रहेसम्म सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत वताए । छलफलमा एसिड आक्रमणबाट पीडितका साथै गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहम्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थितिमा रहेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय