हिमाल दैनिक
बाल अधिकारको सुनिश्चित गर्न संवेदनशिल हुनुपर्ने राष्ट्रपतिको तर्क, संविधान अनुसार बालबालिकासम्बन्धी नीति तर्जुमा गरिएको प्रधानमन्त्रीको स्पष्टोक्ति
1513347963bidya-bhandari-kp-oli-final-400x220
काठमाडौं । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतका नेताहरुले शुभकामना व्यक्त गरेका छन्। दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताइन्। उनले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्पष्ट पारिन्। यता प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताए। बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारे। यस वर्षको सो दिवस ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ आज मनाइँदै छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update