हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले बालबालिकाको रुचि, क्षमता र छनोटका विषयमा अभिभावकले ध्यान दिनुपर्ने बताउँदै बालबालिकालाई कुनै पनि किसिमको विभेदको शिकार बनाउन नहुने धारणा पनि राखे । बालबालिकाको शारीरिक र मानसिक विकासका लागि स्वच्छ हावा, आहार र त्रासरहित वातावरणको सुनिश्चित गरिनुपर्ने उनको भनाइ थियो । कुनै पनि देश देशबीच वा समुदाय समुदायबीचको विवादका कारण बालबालिकाको शान्तिसँग बस्न पाउने अधिकार खल्बलिन नहुने उनले औँल्याए । प्रधानमन्त्री ओलीले केन्द्रदेखि ७ प्रदेश र ७५३ वटै स्थानीय तहको सरकारमा बालबालिका सम्बन्धी काम गर्ने संरचना अविभावकको रूपमा रहने उल्लेख गरे । कार्यक्रममा बालबालिकामन्त्री पार्वत गुरुङले जोखिममा परेका बालबालिकाको अभिभावकका रुपमा राज्य रहेको बताउँदै प्रधानमन्त्रीको मार्गनिर्देशनानुसार तिनीहरुसँग सम्बन्धित कार्ययोजना बनाइने जानकारी दिए । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस सोमबार मनाइएको हो । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा यो दिवस मनाउन थालिएको हो। उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update