हिमाल दैनिक
संविधानको प्रावधानलाई लत्याउँदै पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन कायम गर्न र व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी सचिवालयको निर्णय बमोजिम नेता गौतमलाई विगत ६ महिनादेखि रिक्त रहँदै आएको राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) अनुसार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक स्थानमा गत फागुन २० गतेदेखि कसैको पनि मनोनित हुन सकेको थिएन। प्रतिनिधि सभाको गत निर्वाचनमा वर्दियाबाट पराजित भएका नेता गौतमको निरन्तर दबाब र महत्वकांक्षाका कारण प्रधानमन्त्री केपी शर्मा ओली उनलाई संविधान र निर्वाचन ऐनको प्रावधानलाई लत्याउँदै राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न बाध्य भएका हुन्। ओलीले आफ्नो विश्वासपात्र निर्वतमान अर्थमन्त्री युवराज खतिवडालाई पुनः मनोनित गर्न चाहेपनि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन गुमाउने अवस्थामा पुगेका ओलीले आफ्नो सत्ताको बचाउका लागि गौतमलाई सिफारिस गरे। संविधानको प्रावधान, राजनीतिक दल तथा निर्वाचन ऐनले चुनाव हारेको व्यक्तिलाई पुनः राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने परिकल्पना नगरेको भएपनि त्यसलाई तत्याउँदै सरकारले गौतमलाई सिफारिस गरे पश्चात संविधान र कानूनलाई लत्याउने कार्यमा संविधानकै रक्षक तथा पालकका रुपमा रहेकी राष्ट्रपतिले समेत तानेको छ। विगतमा एक वा एक भन्दा बढी निर्वाचन क्षेत्रबाट एकै व्यक्तिले चुनाव लड्न पाउने प्रावधानले राजनीतिकसँगै निर्वाचन प्रणालीमा नकारात्मक प्रभाव परेको भन्दै संविधान र कानून बनाउने समयमा कांग्रेस र तत्कालिन एमाले, माओवादीले एक व्यक्ति एक निर्वाचन क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था गरिएको थियो। त्यति मात्र होइन, प्रतिनिधि सभाको सदस्य निर्वाचनमा पराजित भएमा उक्त व्यक्तिलाई सो संसदको कार्यकालभरी सांसद वा मन्त्री बन्न नपाउने व्यवस्था गरिएको थियो। तर, विगत लामो समयदेखि निरन्तर सत्ता राजनीतिमा रमाउँदै आएका नेता गौतमले चुनावमा पराजित भएपश्चात पछिल्लो समय जसरी हुन्छ संसदमा प्रवेश गरी सकेसम्म संविधान संशोधनगरी राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने अडान लिँदै आएका छन्। यसका बाबजूद प्रधानमन्त्री ओलीले गौतमलाई सरकारको वष्ठि उपप्रधानमन्त्री बनाउन सक्ने अड्कलबाजी सत्तारुढ दलकै नेताहरुले गरिरहेका छन्। यसैगरी आज बसेको मन्त्रिपरिषदले चैतको पहिलो सातादेखि कोरोना महामारीको त्रासका कारण बन्द रहेको लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update