पोखरा| संविधान दिवसका अवसरमा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले आफ्नो साधारण सभा सहित धर्म, अर्थ, काम र मोक्ष विषयक बहस सम्पन्न गरेको छ। बहसमा वक्ताहरूले ती क्षेत्रका विविध पक्षबारे प्रकाश पारेका थिए।
कार्यक्रममा डा.लेखनाथ आचार्यले मोक्ष विषयमा चर्चा गर्दै बोध हुनेहरू नबोल्ने र बोल्नेमा बोध नहुने कारण समाज अप्ठ्यारोमा परेको धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विश्व अर्थ अवस्थाकै कारण युद्धमा फस्ँदै गएको बताए। जीवनको प्रत्येक क्षणमा अर्थको महत्व रहने तर मान्छेले सम्यक हिसाबले अर्थोपार्जन गर्नुपर्ने उल्लेख गर्दै उनले आर्थिक महत्वकाङ्क्षाकै कारण व्यक्ति आत्महत्याको तहसम्म पुग्ने र समाज भाँडिदै गएको जिकिर गरे।
चिन्तक विश्वप्रकाश लामिछानेले मानिस स्वभावैले धार्मिक हुने जनाउँदै ढोङ्गीहरुले धर्मको महत्व घटाउँदै लगेको बताए। शोषणविहीन समाजको परिकल्पनानुरुपको कर्म नै धर्म भएको उनको भनाइ छ।
अधिकारकर्मी लेखक सावित्री गौतमले हिन्दू धर्ममा कामदेव जस्तै ग्रिकमा पनि पुरुषलाई यौनदेवता मान्ने चलन रहेको उल्लेख गर्दै उनले इन्द्रले अपराध गर्दा अहिल्या आदिले सजाय भोग्नु परेको तिक्तता व्यक्त गरिन्। महिलाले यौन चाहना दमन गर्नुपर्ने, पुरुषलाई जहिले जतिसुकै बेला पनि हाम्रो समाजमा यौन स्वतन्त्रता रहेको उनले धारणा राखिन्।
विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले साहित्यिक संस्थाले यस्तो मर्मभेदी विषयमा बहस चलाउनु अनुकरणीय कार्य भएको बताए। प्रा.डा. यामबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरू चन्द्रावती वाग्ले, रामनाथ अधिकारी संगी, विष्णु बास्तोला र नरेन्द्र रानाभाटले रचना वाचन गरेका थिए।
कोरोना सचेतना सामग्री वितरण गरी सामाजिक दूरी कायम गर्दै सीमित समूहमा आयोजित कार्यक्रममा कोरोना सचेतनाका लागि लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सचेतना सामग्री, मास्क र स्यानिटाइजर उपलब्ध गराएको थियो।
कार्यक्रममा संस्थाको प्रथम साधारण सभासमेत गरिएको थियो । सभाले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्यो। सोही समारोहबीच साहित्यकार गीता भट्टराईको स्मृति सभा पनि गरिएको थियो । असफल गौतमले साहित्यकार भट्टराइकोे जीवनी र कृतित्वमाथि प्रकाश पार्दै उनको निधनले नेपाली वाङ्मयका क्षेत्रमा अपुरणीय क्षति पुगेको धारणा राखे।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय