नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले आफ्नो पार्टी सबै भन्दा बढी महिला मैत्री भएर पनि राष्ट्रिय निर्वाचनमा पार्टीले महिलाको अपेक्षाकृत साथ र समर्थन पाउन नसकिरहेको भन्दै यसबारे गम्भीर समिक्षाको आवश्यकता भएको बताएका छन्।
कांग्रेसको केन्द्रीय महिला विभागले आइतबार आयोजना गरेको भर्चुअल मिटिङमा बोल्दै सभापति देउवाले देशको जनसंख्याको ५० प्रतिशत भन्दा बढी संख्या महिलाकै रहेको तथा विगतका निर्वाचनहरुमा पनि पुरुषको तुलनामा महिला मतदाताकै संख्या बढी रहेको बताउँदै चुनावमा निर्णायक भुमिका पनि उनीहरुकै रहेको बताए।
‘पार्टीले जित्ने वा हार्ने भन्ने कुराको निर्णय महिलाकै हातमा छ,’ देउवाले भने।
पार्टी राजनीतिमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी लगायतका समुदायको पार्टी संगठनमा अनिवार्य प्रतिनिधित्वको व्यवस्था गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका देउवाले आफ्नो पार्टी महिला मैत्री हुँदा पनि महिलाको भोट पाउन नसकिरहेको बताए।
‘हामीले जति महिलाको उपस्थिति अरु कुनै पार्टीले पनि गरेको छैन। यसका बाबजूद नेपाली कांग्रेसले महिलाको भोट पाउन सकिरहेको छैन। हामीलाई प्राप्त सूचना अनुसार, महिलाहरुले हामीलाई भन्दा अरु नै पार्टीलाई बढी मत दिइरहेका छन्। के कारणले हाम्रो पक्षमा महिलाहरु आउन सकिरहेका छैनन् त्यसको कारण पहिचान गर्न जरुरी छ,’ उनले भने।
यसका लागि सबै पार्टीका नेता, कार्यकर्ता तथा महिला नेता, कार्यकर्ताले महिलालाई आफ्नो पक्षमा ल्याउन पनि आग्रह गरे।
देउवाले यो शताब्दीमा महिला नै शक्तिको स्रोत भएको बताउँदै तर पनि महिला शक्तिको साथ र समर्थन पाउन नसकेको बताए।
‘हामीले चुनावी नतिजा आफ्नो पक्षमा पार्न महिलाको अत्याधिक मत पाउनु पर्छ,’ देउवाले भने।
नेपालको संविधानले महिलाका लागि देशका महत्वपूर्ण स्थानमा अनिवार्य र उचित प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै यसका बाबजूद पनि महिलाहरुले अझै धेरै अधिकार प्राप्त गर्न जरुरी भएको बताए।
संविधानको व्यवस्था अनुसार, पार्टीले पनि विधानमा परिमार्जन गर्दै सहमहामन्त्रीदेखि अनिवार्य ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै भोलिका दिनमा अरु पदमा पनि आउँन बताए।
यसका लागि महिलाहरले पार्टी संगठनमा महिलाको सदस्यतासँगै चुनावमा महिलोको साथ र समर्थन जुटाउन सभफाव दिए।
उनले आफूले सरकारको नेतृत्व गरेकै बेला महिला, दलित, आदिवासी जनजाति लगायतको अधिकारको पक्षमा उभिएर उनीहरुको हक अधिकार संरक्षणका लागि विभिन्न आयोगहरु बनाएको पनि बताए।
देउवाले गत निर्वाचनमा एमाले र माओवादी दुई पार्टी मिलेर एउटै जस्तो गरी चुनाव लडेपनि आफ्नो पार्टीभित्र रहेको पुरानै रोगका कारण एक पार्टी पनि दुइटा जस्तो भएर लड्दा नतिजा अपेक्षाकृत नआएको बताए।
देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान सकेमात्रै पार्टीले चुनाव जित्ने बताउँदै यसका लागि आफू लागिपरेको मात्र भनेन् पार्टीलाई चुनावमा जिताएर देशकै ठूलो पार्टी बनाउने धोको रहेको बताए।
उपसभापति विमलेन्द्र निधिले कांग्रेस र यसका भातृ संघसंस्थाहरु सामू अहिले पहिलो कोरोनाबाट कसरी आफू, आफ्नो परिवार, पार्टीका साथी तथा आम जनतालाइ जोगाउने भन्ने पहिलो तत्कालिक र आकस्मिक कार्यभार रहेको बताए।
त्यसपछि पार्टी र पार्टी नेता, कार्यकर्तासामू १४औं महाधिवेशन सफलता पूर्वक सम्पनन गरी तेस्रो कार्यभारका रुपमा आगामी तीन तहको निर्वाचनमा पार्टीलाई कसरी विजयी बनाउने भन्ने कार्यभार रहेको उनले बताए।
महिलाको सहभागीताको विषयमा नेपाल मात्र होइन दक्षिण एसियामा कांग्रेस मात्रै त्यस्तो पार्टी हो जसले आफ्नो पार्टी संगठनमा महिलाको समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको छ भन्दै उनले कदमजमबाट आरक्षणको सुरु गरेकोमा मुस्लिम, अल्पसंख्यक लगायतका थप आरक्षणको व्यवस्थाप्रति पार्टीले गर्व गर्न सक्नु पर्ने बताए।
गएको निर्वाचनमा तीन करोड जनसंख्यामध्ये डेढ करोड मतदातामा महिला मतदाताकै संख्या बढी भएको बताउँदै निधिले देशको निर्वाचनमा महिलाहरुकै निर्णायक भूमिका रहेको बताए।
कांग्रेसले महिलाको भूमिका बढाउन महिलाको साधारण तथा क्रियाशील सदस्यता संख्या बढाउन जरुरी रहेको बताउँदै निधिले महिलाको मतदाताको संख्या बढी भएपनि पार्टीभित्र महिलाको सदस्यता संख्या अपेक्षाकृत नरहेको बताए।
महिलाको नेतृत्व विकाससँगै उनीहरुको संख्यात्मक बृद्धिका लागि जिल्ला सभापति वा महिला नेतृ अथवा शुभेच्छुक संस्थाले पनि महिला सदस्यताको संख्या बढाउन उदार हुनु पर्ने उनको जोड थियो।
पार्टीका भातृ संस्थाले साधारण सदस्यता वितरण गर्न लाग्दा पार्टी नेताहरुकै तर्फबाट यसको विरोध भइरहेको बताउँदै उनले कांग्रेसले आगामी निर्वाचनमा विजयी हुने हो भने पार्टीको साधारण सदस्यता र क्रियाशील सदस्यता बढाउनै पर्ने उनको दाबी थियो।
‘यसका लागि पार्टीले हाल कायम रहेको क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउने निर्णय गरिएको हो। सदस्यता संख्या नबढाएसम्म पाटीसँग महिला, जनजाति, आदिवासी, युवाहरुको संलग्नता बढ्न सक्दैन,’ उनले भने।
नेपालका कम्युनिष्टहरुले चीन भ्रमणका क्रममा चिनियाँ शासन प्रणाली अनुकरणीय रहेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै निधिले कम्युनिष्टबाट नेपालको लोकतान्त्रिक शासन व्यवस्था सोचेअनुसार अघि बढ्न नसक्ने दाबी पनि गरे।
महाधिवेशनलाई आगामी चुनावको तयारीका रुपमा लिन आग्रह गर्दै यसका लागि महिलाले सक्रिय भूमिका लिनु जरुरी भएको बताए।
विभागकी सचिव लक्ष्मी खतिवडाले संचालन गरेको कार्यक्रममा अर्का उपाध्यक्ष विजयकुमार गच्छदार देशको संविधान अनुसार नै पाटीले गत महासमितिको बेठकबाट बनेको विधानले पार्टीमा ३३ प्रतिशत महिलाको प्रतिनित्व संगठनात्मक संरचनामा सुनिश्चित गरेको बताए।
आगामी महाधिवेशनमा महिलाको सहभागिता बढाउन जोड दिँदै उनले पनि जबसम्म सहभागितामा बृद्धि हुन सक्दैन तबसम्म संविधान र विधानको व्यवस्था उपभोग गर्न र समानताको अनुभूति गर्न महिलाले नसक्ने बताए।
यसका लागि महिला विभागले नै महिला सदस्यता बृद्धिको व्यापक संख्यामा बृद्धिमा भूमिका निर्वाह गर्न गच्छदारले सुझाव दिए।
सहमहामन्त्री प्रकाशशरण महतले महिलाको सहभागिता बढाउन महिला आफैँ अघि सर्न नसकेको अवस्थामा पार्टी नेतृत्वले नै अघि सरेर सक्षम महिला नेतृत्वको सम्भावना बोकेका व्यक्तिहरुको खोजी गर्ने भूमिका महिला विभागले गर्न जरुरी भएको बताए।
महिलाको प्रतिनिधित्व, नेतृत्व, अवसर र चुनौती विषयक अवधारण पत्र पेश गर्दै पूर्व सभासद आरजु राणा देउवाले सार्वजनिक जीवनमा आउने महिलाका लागि आफ्नो समयको व्यवस्थापन नै प्रमुख चुनौतीको विषय रहेको बताइन्।
परिवारदेखि राजनीतिमा संलग्न हुँदा पुरुषले पाएको सुविधा महिलाका लागि सहज रुपमा मिल्ने अवस्था नरहेको बताउँदै उनले समयसँगै महिलाको सामाजिक सुरक्षादेखि उनीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन जरुरी भएको बताइन्।
महिलाले पनि राजनीतिमा आउँदा आफ्नो लक्ष्यसहितको मार्गचित्र तयार गर्न जरुरी रहेको बताउँदै महिलाको सहभागिता बृद्धिका लागि हरेक तहमा महिलाको साथ र समर्थन जुटाउन जोड उनले दिइन्।
विभागकी संयोजक तथा केन्द्रीय सदस्य ईश्वरी न्यौपानले कांग्रेस नेतृत्वकै पहलमा संविधानमा व्यवस्था नभएपनि निर्वाचन ऐनमा स्थानीय तहमा समेत प्रमुख, उप्रमुखमध्ये एक तथा दलितसहित महिला आरक्षणको व्यवस्था गरेर महिला सहभागितालाई सुनिश्चित गराउन सफल भएको बताइन्।
पार्टीको ८ तहमध्ये, टोल कार्यसमितिदेखि केन्द्रसम्म नै एक तिहाई महिला उपस्थितिको अनिवार्य व्यवस्था गरेको बताउँदै उनले तर, महिलाले आफू तलदेखि माथिल्लो तहसम्म पुग्नका लागि पार गर्नुपर्ने चरण र त्यसका सीमाहरुको आंकलन गरी अघि बढ्न सक्नु पर्ने बताइन्।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय