हिमाल दैनिक
नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले असोज १९ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार असोज १९ गते अपरान्ह २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा उपस्थित हुनका लागि भनिएको छ। उक्त बैठकमा सहभागी हुनका लागि कांग्रेसले पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरु सबैलाई असोज १५ गते बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म पार्टी मुख्यालयमा कोरोना परिक्षण पीसिआर टेष्ट गर्न पनि निर्देशन दिइएको छ। यसअघि पार्टीको महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने गरी विधान अनुसार समायोजन प्रक्रियासँगै क्रियाशील सदस्यता नविकरण साउनभित्र गरिसक्ने कार्यतालिका तय गरिएको थियो। तर, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण उक्त कार्यतालिकासँगै नयाँ क्रियाशील सदस्यता वितरण कार्य समेत प्रभावित भएपनि पार्टी केन्द्रीय कार्यसमिति बैठकले यसबारे पुनः नयाँ कार्यतालिका तय गर्नु पर्ने भएको हो। महामारीको त्रास कायमै रहेको अवस्थामा पार्टी महाधिवेशनको कार्यतालिकामा पनि फेरबदल गर्नु पर्ने बाध्यता पार्टी सामू आइपुगको छ। यसका अतिरिक्त पार्टी क्रियाशील सदस्यता छानविन समिति गठनदेखि महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति, राजनीतिक तथा आर्थिक प्रतिवेदन तयारी समिति गठन गर्न आवश्यक पर्दछ। पार्टी विधान अनुसार नियमित चार वर्ष कार्यकाल पूरा गरी अतिरिक्त एक वर्ष थप गरेको कांग्रेसको वर्तमान संरचनाको कार्यकाल फागुन १९ गते पाँच वर्ष पूरा हुनेछ। विधानको परिधिभित्र रहेर महाधिवेशन गर्न असम्भव भएमा कांग्रेसले आफ्नो पार्टी संगठनलाई वैधानिक रुपमा बचाउन संविधानको साहरा लिनु पर्नेछ। जसमा थप ६ महिनाको अतिरिक्त समयभित्र अनिवार्य रुपमा महाधिवेशन गर्नु पर्नेछ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update