हुम्लाको उत्तरी सीमा क्षेत्रमा चीनले नेपाली भूभाग मिचेको भन्ने विषयमा सरकारले हतारमा प्रतिक्रिया दिनु युक्तिसंगत नभएको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको छ।
हुम्लाको सीमा क्षेत्रमा चीनले नेपाली भूभाग मिचेर भौतिक संरचना बनाएको भन्ने समाचार प्रकाशित भएपछि बुधबार सरकारका प्रवक्ता प्रदिप ज्ञावाली र उनको मन्त्रालयले स्थलगत अध्ययनको प्रतिवेदन आउनु अगावै ‘सीमा मिचिएको छैन’ भनि दिएको सार्वजनिक प्रतिक्रियाबारे कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको बताएका छन्।
‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो÷होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन,’ विज्ञप्तिमा भनिएको छ।
साथै कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा रहेको पनि कांग्रेसले जनाएको छ।
सीमा सम्बन्धि गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने आफ्नो पार्टीको बुझाई रहेको पनि शर्माले बताएका छन्।
बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ।
साथै कांग्रेसले स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको पनि उनले बताएका छन्।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय