हिमाल दैनिक
विज्ञको ठाउँमा ‘लार्भा’ सलबलाएपछि...
shikshyamantri
कार्यदलमा परेका लेखकमध्ये तीनै जनाको पुरानो सम्बन्ध तत्कालिन राष्ट्रिय जनमोर्चाबाट विस्तारै विघटित नेकपा माओवादी हालको नेकपा नेता एवं मन्त्री पोखरेलसँग रहेको र उनीहरुमध्ये एक जना त पूर्व एनेकपा माओवादीका केन्द्रीय सदस्य नै रहेछन् पहिलो संविधान सभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेको केहीपछि तत्कालिन नेकपा एमाले पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा एमाले नेता केपी शर्मा ओलीले त्यतिबेलाको सत्तारुढ दल एनेकपा माओवादीप्रति कटाक्ष गर्दै भनेका थिएः झुसिलकिराबाट पुतली बन्छ भन्दैमा झुसिलकिरालाई पुतली भन्न सकिँदैन। झुसिलकिरा झुसिलकिरा नै हो, पुतली होइन। तर, १० वर्षपछि ०७४ सालमा सम्पन्न आम निर्वाचनमा त्यही झुसिलकिराको संज्ञा दिइएको माओवादीसँग चुनावी तालमेल र पछि पार्टी नै एकीकरण गरेपछि देशकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ। र त्यसको अध्यक्ष उनै ओली अहिले देशको प्रधानमन्त्री पदमा पदासिन छन्। सत्ताको बागडोर सम्हालेको दिनदेखि नै सरकारको विरुद्धमा विभिन्न सामाजिक संजाल तथा मिडियामा आएका आलोचनाबाट रुष्ट बनेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टी निकट पत्रकार तथा सामाजिक संजाल प्रयोगकर्ताहरुलाई विपक्षी विरुद्ध अरिंगाल जसरी खनिएर प्रतिकार गर्न निर्देशन समेत दिएका थिए। जसको कारण कतिपयले ओली निकटस्थ पत्रकार र समर्थकलाई विपक्षीहरुले अहिले पनि ‘अरिंगाल सेना’कै उपमा दिएर व्यंग्य गर्ने गरेका छन्। यसरी कुनै समय आफू र आफ्नो पार्टीलाई पुतलीको उपमा दिने ओलीले एक कदम अघि बढेर कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिएपनि त्यतिबेलाका झुसिलकिरा पुतली बन्नै नपाई अरिंगाल बन्ने विकासक्रमको प्रारम्भिक अवस्था ‘लार्भा’कै चरणमा छन्। यसरी पूर्णरुपमा विकसित भएर अरिंगाल बन्ने क्रममा रहेका लार्भालाई नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बहुचर्चित ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामाग्री’ नामको पुस्तक लेख्ने जिम्मा दिएको तथ्य बाहिरिएको छ। पाठ्क्रय विकास केन्द्र, सानोठिमी भक्तपुरबाट प्रकाशित विवादस्पद पुस्तकको पहिलो अंशमा मन्त्री पोखरेलको महावाणीयुक्त ६ पृष्ठ लामो अभिव्यक्ति लगत्तै पाठ्यक्रम विकास केन्द्रको तर्फबाट ‘हाम्रो भनाई’ शीर्षकमा दुई पृष्ठ लामो लेख राखिएको छ। जसमा उल्लेखित जानकारी अनुसार, पुस्तिक लेखनका लागि केशवराज ढकाल, शेरबहादुर गुरुङ र कोमलचन्द्र बराल सम्मिलित कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलमा समावेश गरिएका लेखकमध्ये तीनै जनाको पुरानो सम्बन्ध तत्कालिन राष्ट्रिय जनमोर्चाबाट विस्तारै विघटित नेकपा माओवादी र हालको नेकपा नेता एवं मन्त्री पोखरेलसँग रहेको तथ्य मात्रै उजार भएको छैन, उनीहरुमध्ये एक जना त पूर्व माओवादीका केन्द्रीय सदस्य नै रहेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षा संकायमा भूगोल विषयको सहप्राध्यापक ढकाल हाल पार्टीगत हिसाबले नेकपासँग नभएपनि विद्यार्थी जीवनकालमा जनमोर्चा र त्यसका नेता मन्त्री पोखरेलसँगको सामिप्यता रहेको उनैका सहकर्मी विद्यार्थीहरु बताउँछन्। त्रिभुवन विश्वविद्यालयकै मानविकी संकायतर्फ भूगोल विषयकै उपप्राध्यापक गुरुङ पनि माओवादी निकट प्राध्यापकको तर्फबाट नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य समेत रहेका छन्। तर, अर्का सदस्य बराल भने विघटित एनेकपा माओवादीको केन्द्रीय सदस्य तथा ‘सीमा बचाऔँ अभियान’मा सक्रिय कार्यकर्ता भएको उनैको फेसबुकबाट स्पष्ट हुन्छ। उक्त कार्यदलले तयार पारेको विवादस्पद पुस्तकको सुरुवातमै मन्त्री पोखरेलको एकांकी अभिव्यक्ति राखेर पाठ्यक्रम विकास केन्द्रले नयाँ कीर्तिमान त कायम गरेकै छ। त्यसपछि राखिएको हाम्रो भनाई शीर्षकमा मन्त्री पोखरेल र भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालको बखान गरिएको छ। जसको अध्ययन गर्दा लाग्दछ, मन्त्री र पुस्तक लेखनका लागि खटिएका सदस्यसँगै पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीहरु पुरानो किम्बदन्तीमा उल्लेख गरिएका ‘तरबार बेचुवा र घ्यू बेचुवा’ पात्र जस्तै हुन्। जसल एक अर्काको प्रशंसामा पुस्तकको केही अंश खर्चिएका छन्, जुन देशको समाज, इतिहास र भूगोल अध्ययन गर्ने विद्यार्थीका निम्ति कुनै चासोको विषय होइन। पुस्तक लेखनका क्रममा कार्यदलले विभिन्न माध्यमबाट नेपालको सीमा व्यवस्थापन सम्बन्धी जानकारी लिएको उल्लेख गर्दै मन्त्रीको स्तुतिः गर्दै भनिएको छ, ‘यही सिलसिलामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय गिरिराजमणि पोखरेलज्यूबाट आफ्नो राजनीतिक जीवनका विभिन्न चरणमा नेपालको ‘सीमा बचाऔँ अभियान’मा सहभागी भएको सन्दर्भ र अनुभवका आधारमा समेत यस विषयमा सबैलाई सुसूचित गराउन पाठ्यक्रम विकास केन्द्रमार्फत विद्यार्थीहरुसम्म पुग्ने सामाग्री तयार पार्न आवश्यक भएको कुरा निर्देश भएको थियो।’ देशको इतिहास तथा कुटनीतिक महत्वको विषय रहेको सीमा सम्बन्धी विषयमा इतिहास तथा भूगोलविदहरुले गरेका तथ्यगत अध्ययन, अनुसन्धान र ऐतिहासिक दस्तावेजसँगै प्राप्त प्रमाणका आधारमा भन्दा मन्त्री विशेषको निर्देशनलाई प्राथमिकतामा राखेर पाठ्क्रयम विकास केन्द्रले अर्को महाभूल गरेको छ। [pdf-embedder url="https://www.himaldainik.com/wp-content/uploads/2020/09/@himaldainik.com-2.pdf" title="@himaldainik.com (2)"] यसरी देशको सामाजिक अध्ययन, इतिहास, भूगोल तथा सीमा सम्बन्धी जटिल विषयलाई समेटेर पुस्तक लेखन गर्दा न त सरकारका मन्त्री, न त पाठ्यक्रम विकास केन्द्रको नेतृत्व, न लेखक स्वयंले सन्तुलन कायम गर्न सकेका छन्। न त पुस्तकमा प्रयोग गरिएको भाषा नै परिस्कृत र दीर्घकालसम्म विश्वसनीय हुने गरी गरिएकोे छ। यस पुस्तक लेखनको विषयमा जानकारीका लागि पाठ्यक्रम विकास कन्द्रका प्रवक्ता गणेश भट्टराईदेखि अन्य उपनिर्देशकहरुसँग समेत पटक पटक सम्पर्क गर्दा यसबारे केही नबोल्ने जवाफ दिए। तर, तीन जनाको कार्यदलमध्ये एक शेरबहादुर गुरुङले भने आफूले नेपालको नक्सासम्बन्धि अंशमा काम गरेपनि बाँकी अरु विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। पाठ्यपुस्तकमा मन्त्रीको भनाई राखेको विषयमा पनि आफू अनविज्ञ रहेको बताउँदै मन्त्रीको विचार राख्ने विषय र प्रचलनबारे खासै जानकारी नभएको जिकिर गरे। र प्रकाशकको भनाई सम्बन्धि लेखबारे पनि पाठ्क्रम विकास केन्द्रले नै गरेको भन्दै उनले लकडाउनको कारण पुस्तक प्रकाशन हुनु पूर्वमात्र होइन, अहिलेसम्म पनि उक्त पुस्तक आफ्नो हातमा नआइपुगको बताए। पुस्तक लेखनका लागि लेखकको छनौटदेखि त्यसमा समावेश गरिएका विषयवस्तुबारे शिक्षाविद बासु काफ्लेले देशको इतिहास, भूगोल र सीमा जस्तो दूरगामी र गम्भीर विषयमा सम्बन्धित विषयबारे लामो अनुभव, ज्ञान र विज्ञता भएका प्राज्ञिक व्यक्तिहरु राख्न सकिएन भने त्यसले स्तरियता र विश्वसनीयता दुबै गुमाउने खतरा रहने स्थिति आउनसक्ने बताए। त्यतिमात्र होइन, काफ्लेले कतिपय अवस्थामा यस्ता पुस्तकमा राखिएका विषयवस्तु तथा भाषाको कारण दूरगामी कुटनीतिक प्रभाव पार्न सक्ने सम्भवाना पनि उत्तिकै रहनसक्ने बताए। क्रमशः
यस सम्बन्धी अन्य सामग्री:
नक्सासम्बन्धी पुस्तक महिमा: विद्यार्थीको पाठ्यपुस्तकमा मन्त्रीको महावाणी!
प्रधानमन्त्रीज्यू! त्रुटि नक्सामा हो कि, पुस्तकमा?
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update