हिमाल दैनिक
सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको आजको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । उनले आफ्नातर्फबाट समेत विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । प्रतिनिधिसभा सदस्य आशाकुमारी विकलगायत सांसदले सभामुख सापकोटालाई भेटेर बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । सांसदले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update