कोरोना महामारी नियन्त्रणदेखि राज्य संचालनका सवालमा वर्तमान सरकार पूर्णरुपले असफल भएको आरोप लगाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने तयारी गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बुधबार संस्थापन पक्ष निकट पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरुसहितको छलफलका क्रममा पार्टीभित्रको आन्तरिक विवाद समाधानबारे छलफल गर्नेदेखि सरकारको कामकारबाहीबारे सदन र सडकमा सशक्त आवाज उठाउनेबारे छलफल भएको थियो।
केन्द्रीय सदस्य एनपी साउदका अनुसार, आजको बैठकमा असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित २७ जना केन्द्रीय सदस्यहरुले हालै केन्द्रीय कार्यालयमा सभापतिलाई सम्बोधन गरी बुझाएको ज्ञापनपत्रको विषयदेखि कोेरोना महामारीमा सरकारको प्रभावहिनता र राज्य संचालनमा भएको अपारदर्शीताबारे सदनदेखि सडकमा छलफल र विरोध जनाउनेबारे परामर्श भएको थियो।
देशमा कोरानाको कारण भयावहस्थित हुँदा पनि सरकारले त्यसको नियन्त्रणमा भन्दा भ्रष्टाचार, अनियमितता र अपारदर्र्शीतापूर्ण गतिविधिमा सक्रिय रहेको भन्दै यसबारे सदनभित्रै गम्भीर छलफल र निर्णय लिन तत्काल संसदको विशेष अधिवेशन बोलाउनेबारे १९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने अनौपचारिक निर्णय भएको उनले बताए।
यसैगरी उक्त बैठकपछि पार्टीले सरकारको जनविरोधी गतिविधिविरुद्ध सडक आन्दोलनका कार्यक्रम पनि तय गर्नेबारे पार्टीभित्र आन्तरिक छलफल भएको छ।
यसका अतिरिक्त पार्टी नेता पौडेल लगायतका नेताहरुले उठाएका विषयहरुमाथि पनि सभापति देउवा र उनी पक्षका नेताहरुबीच छलफल भएको थियो।
‘वरिष्ठ नेता पौडेलसहितका नेताहरुले उठाएका विषयहरुको सन्दर्भमा निर्वाचन समितिसँग, पार्टी कार्यालयसँग र नेतृत्वदेखि पार्टी महाधिवेशनको कार्यतालिकाबारे सम्बन्धित विषयहरुमा बुँदागत रुपमा नै पार्टी नेतृत्वले असन्तुष्ट पक्षसँग बसेर छलफल गर्ने पनि भनिएको छ,’ उनले भने।
पार्टी नेतृत्वकाे कार्यशैली र क्रियाकलाप विरूद्द पाैडेलसहित २७ जना सदस्यले साेमबार ९ पृष्ठ लामाे ज्ञापनपत्र दर्ता गरेका थिए।
[pdf-embedder url="https://www.himaldainik.com/wp-content/uploads/2020/09/ज्ञापन-पत्र.pdf" title="ज्ञापन पत्र"]
सरकारको कामकारबाही र गतिविधिदेखि कोरोना महामारी लगायतका विषयमा संसदको अधिवेशन बोलाउने विषयमा पहिले पार्टी केन्द्रीय कार्यसमितिबाट निर्णय गरेपछि अधिवेशन आब्हानका लागि आवश्यक तयारीका लागि सदनभित्र रहेका विपक्षी दलसँग पनि परामर्श गर्ने तयारी पार्टीले गरेको छ।
संसदीय नियमावली र संविधान अनुसार, संसदको विशेष अधिवेशन बोलाउन सदनमा रहेका २५ प्रतिशत सदस्यले छलफलको विषयसहित संसद सचिवालयमा प्रास्ताव दर्ता गर्नु पर्दछ। तर, हाल कांग्रेससँग विशेष अधिवेशनको माग गर्न आवश्यक २५ प्रतिशत नपुग्ने हुँदा उसले जनता समाजवादी पार्टी नेपालको साथ लिन आवश्यक पर्दछ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय