काठमाडौंको चावाहील क्षेत्रमा सडक मर्मत तथा सम्भारमा ढिलासुस्तीका कारण यात्रु तथा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । चावहिल क्षेत्र वर्षामा हिलाम्मे र हिउँदमा धुलोमय बन्ने गरेको छ ।
चावहिल रिङरोडमा कुनै विवाद कारणभन्दा पनि ढिलासुस्तीका कारण ढिलाइ भएको हो । पिच गर्न ठेक्कासमेत लागिसकेको अवस्थामा कोरोना महामारी र लकडाउनका कारण ढिलाइ हुन गएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । डिभिजनले दसैंसम्म पिच गरिसक्ने दाबीसमेत गरेको छ ।
चावहिल–साँखु सडक खण्डमा पनि वर्षांैदेखि कालोपत्रे तथा ढल व्यवस्थापनको काम हुन सकेको छैन । यसअघि, उक्त सडक खण्डमा सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको थियो भने अहिले काममा व्यापक ढिलासुस्ती हुँदै आएको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीले उक्त सडकखण्डमा चार वर्षमा पनि कालोपत्रेको काम सम्पन्न हुन नसकेको हो । समयमा नै सडक निर्माण नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले धुलो र हिलोले आफुहरुको स्वासथ्यमा पनि समस्या देखिएको बताए ।
चावहिल–साँखुको १२ किलोमिटर सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने योजनासहित २०७२ सालबाट काम अघि सारिएको थियो । २०७४ सम्ममा सडक विस्तार सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै आएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार १ अर्ब ७५ करोड रुपैयाँको लगानीमा उक्त सडक निर्माण भइरहेको हो ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय