उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष पदमा आफ्ना सम्धी उपेन्द्र कोइरालाको नियुक्ति प्रक्रियाबार सामाजिक संजालमा आएको प्रतिक्रियाको खण्डन गरेका छन्।
पोखरेलका सम्धी कोइरालाले २०५१ सालदेखि निरन्तर रुपमा सात पटक राजनीतिक नियुक्ति पाएको भन्दै समाचारसँगै सामाजिक संजालमा आलोचना भएपछि मन्त्री पोखरेलले बुधबार आफ्नो ट्वीटर र फेसबुकबाट खण्डन गर्दै आफूविरुद्ध शाहीकालका दुष्ट मतियारहरु लागि परेको आरोप लगाएका छन्।
आफ्नो परिवार र नाता सम्बन्धका कुनै पनि व्यक्तिले आफ्नो पदको दुरुपयोग गरी विद्यमान कानूनी व्यवस्था उलंघन गरी कुनै लाभको पद लिएको वा प्राप्त गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी पनि उनले गरेका छन्।
हालै बाणिज्य बैंकको संचालक समिति सदस्यमा मनोनित भएका कोइरालालाई बैंकको संचालक समिति अध्यक्ष बनाउन लागेको जानकारी समाचारहरुले पाएपछि फैलिएको समाचारबारे पोखरेलले कुनै पनि संस्थाको विधिसम्मत, पारदर्शी र संस्थागत निर्णय प्रक्रियामा भएको दाबी गरेका छन्।
उनले आफ्नो बारेमा आएका प्रतिक्रियाप्रति खेद प्रकट गर्दै तत्कालिन शाही कालमा आफूलाई पक्राउ गरी थुनामा राखेर बदनाम गर्न पानी ट्यांकीमा पैसा भेटिएको भनि चरित्र हत्या गरेको स्मरण गर्दै उनले अहिले त्यहि दुष्ट मतियारहरु नयाँ ढंगले आफ्नो विरुद्ध स्वर उरालिरहेको आरोप लगाएका छन्।
https://www.youtube.com/watch?v=56jGAQBXBHY&feature=youtu.be
कहिले उच्चमाध्यमिक शिक्षा परिषद, कहिले आयल निगम त कहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त हुन सफल कोइराला पोखरेलका सम्धी हुन्।
उच्चमाध्यमिक शिक्षा परिषददेखि आयल नियम र विश्वविद्यालय उपकुलपतिमा विवादस्पद भूमिकामा रहेका कोइरालाको नियुक्तिमा सत्ता र सत्ता बाहिरका व्यक्तिहरुले पाखरेलकै हात रहेको दाबी गर्दैआइरहेका छन्।
कतिपय समाजिक संजाल प्रयोगकर्ताहरुले भने उपेन्द्र कोइराला पोखरेलका सम्धी हुनु अगावै चारवटा निकायमा नियुक्ति लिन सफल रहेको बताउँदै उनी पोखरेलका सम्धी भएको कारण नियुक्ति पाएको नभई पटक पटक नियुक्ति खान सफल भएकै कारण पोखरेलको सम्धी भएको कटाक्षपूर्ण प्रतिक्रिया दिइरहेका पनि छन्।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय