सरकारले सबै अस्पताललाई निश्चित संख्यामा अस्पतालको शैय्या कोरोना संक्रमित विरामीका लागि राख्न दिएको निर्देशन अव्यवहारिक भएको भन्दै त्यसलाई सच्याउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुझाव दिएको छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण विरुद्ध तयारीका लागि पर्याप्त समय हुँदाहुँदै पनि सरकारले गम्भीरतापूर्वक नलिँदा संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले सबै अस्पताललाई कम्तिमा २० प्रतिशत शैय्या संक्रमित विरामीका लागि छुट्याउन निर्देशन दिएको थियो।
https://www.youtube.com/watch?v=vKeV_bhIQ7A&feature=youtu.be
नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्न माग गरेको हो।
कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिले सरकारले लकडाउन गर्ने, खोल्ने, फेरी बन्द गर्ने बाहेक संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक, सामाजिक असरलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको आरोप लगाएको छ।
बुधबार समितिका संयोजक तथा सहमहामन्त्री प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा सरकारकै अकर्मण्यता र संवेदनहीनतका कारण संक्रमण नियन्त्रण बाहिर जाँदा नागरिक जीवन अत्यन्त संकटमा परेको भन्दै सरकारसँग तत्काल कदम चाल्न ध्यानाकर्षण गरेको छ।
समितिले १३ बुँदे ध्यानाकर्षण पत्रको पहिलो बुँदामा सरकार अहिलेसम्म पनि दिशाहिन र योजनाविहित भएको आरोप लगाएको छ। कांग्रेसले यस कोरोना संक्रणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्न ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न पनि माग गरेको छ।
त्यसैगरी अस्पतालहरुमा आवश्यक अक्सिजन तथा भेन्टीलेटरको तत्काल व्यवस्था गर्न पनि मागसँगै स्वास्थ्यकर्मीको विमा व्यवस्था तत्काल कार्यान्वयन गर्नु र कोरोना जोखिम भत्ताको व्यवस्था गर्न पनि माग गरेको छ।
देशका विभिन्न भागमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भइरहेको दुव्र्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गर्न पनि कांग्रेसले माग गरेको छ।
संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पिसिआर परिक्षणलाई व्यापक बनाउन पनि कांग्रेसले माग गरेको छ।
उपचारको क्रममा उपयोगी औषधीहरुलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गर्न पनि माग गरेको छ।
यसका साथै स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गर्न माग गरेको छ।
विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गर्न पर्ने माग गर्दै कांग्रेसले हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाउन माग गरेको छ।
यसका अतिरिक्त कांग्रेसले शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परिक्षा वैकल्पिक विधि अपनाएर भए पनि संचालन गर्न सरकारसँग माग गरेको छ।
प्रेस बिज्ञप्ति:
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय