हिमाल दैनिक
पुरानो नक्सामा मन्त्री अर्यालकै मोह छ भने कसरी वितरण हुन्छ त नयाँ नक्सासहितको पुस्तक?
padma
नेपालको नयाँ नक्सासहितको पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले छपाई गरी वितरणका लागि पठाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न दिएको निर्देशनको अर्को रहस्य बाहिर आएको छ। भारतले अतिक्रमण गरेका सुदूरपश्चिमको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको नयाँ नक्सा तयार गरी सार्वजनिक गरेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल स्वयंले उक्त नयाँ नक्साको सट्टा पुरानै नक्सा प्रयोग गरेर आफैले गरेको निर्णय विपरित क्रियाशील रहेको पुष्टि भएको छ। आफ्नो गृहजिल्ला स्याङजाको वालिङ–१४ तमादीमा बिहिबार बिहान गएको पहिरोले एकै घरका ९ जना र कालिगण्डकी गाउँपालिकामा एकै घरका १० जनाको निधनप्रति समवेदना दिने क्रममा नेपालको पुरानै नक्सासहितको निशान छाप रहेको लेटरप्याड प्रयोग गरेपछि उनले संसद, संविधान र सरकारको निर्णयलाई पूर्णरुपले वेवास्ता गरेको देखिएको छ। नेपालको सुदूरपश्चिम प्रदेशको दाचुर्लास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतको भारतीय अतिक्रमणमा परेको भूभागसहितको नक्सा र क्षेत्रफल सम्बन्धि विद्यालय तथा उच्चमाध्यमिक तहका विद्यार्थीका लागि तयार पारिएको पुस्तक वितरणमा एकाएक रोक लगाएपछि सरकारको नियत र निर्णयप्रति आशंका उत्पन्न भएको थियो। तर, मन्त्री अर्याल स्वयंले नै संविधानमा संशोधनसहित प्रयोगमा आएको नेपालको नयाँ नक्सासहितको निशान छापको प्रयोग नगरिरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पुस्तकमा राखिएको नयाँ नक्सा र क्षेत्रफलको विषय कसरी आम विद्यार्थीमाझ पुग्न सक्दथ्यो त?
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update