केही समयअघि कोरोना महामारीको संक्रमण फैलिएको देख्नेहरुलाई मोतिविन्दु लागेको अभिव्यक्ति दिएर चौतर्फी आलोचना खेपेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार फेरि अर्को विवादस्पद अभिव्यक्ति दिएका छन्।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीको ६१औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा सम्बोधनका लागि पुगेका स्वास्थ्य मन्त्री ढकालले आफ्नै दलभित्र र बाहिर रहेर सरकारको आलोचना गर्नेहरुको मति बिग्रीएको भन्दै अस्पतालको वार्षिक उत्सवको अवसरमा मति फिर्ने शुभकामना दिए।
उनले सरकारले गरेका कामहरुमा रचनात्मक ढंगले सुझाव र आलोचना गरे त्यसले महामारी नियन्त्रणका लागि सहयोग पुग्ने बताए।
यसरी बोल्दै जानेक्रममा उनले भने, ‘यो अस्पतालका ६१औं वार्षिक उत्सवका दिन मति बिग्रीएकाहरुका लागि पनि यो महामारीकाविरुद्ध लड्नका निम्ति मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु।’
यसरी प्रसूति तथा स्त्री रोेग अस्पतालको वार्षिक उत्सवमा उनले शुभकामना दिएकाहरुमा उनको आफ्नै दल (घरभित्र)का नेता तथा कार्यकर्तादेखि आफ्नो छिमेकमा रहेकाले महामारीविरुद्ध लडाईमा होेमिएको सरकारको खुट्टा तानेको आरोप पनि लगाए।
उनले भने, ‘चाहे ति मेरा घरभित्र बसेका हुन्, चाहे ति मेरा छिमेकमा रहेका व्यक्तिहरु हुन्, सरकारकोे आलोचना गरेर लडाइको अभियानमा लागेकोे योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्याउन सक्दैन।’
पार्टीभित्रको आन्तरिक किचलोका कारण उत्पन्न असहजताको विषयलाई मन्त्री ढकालले आफ्नै पार्टी कार्यालयको कार्यक्रममा जस्तै गरी सार्वजनिक अस्पतालको कार्यक्रममा व्यक्त गर्दै आफ्नो दलभित्रको किचलो सत्ताका लागि भएको बताए।
‘बाँचियो भने सत्ता प्राप्त गर्ने लडाई फेरि पनि खेल्न सकिन्छ। किनभने सत्ताका निम्ति लड्ने यो नै अन्तिम युद्ध होेइन। पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन्। म्याण्डेटपछि फेरि त्यो खेलमा लाग्दा पनि केही बिग्रीँदैन,’ उनले भने।
साथै उनले आफ्नै दलका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतको नाम नलिइकन उनीहरुलाई स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँडिरहेको आरोप लगाए।
उनले भने, ‘मित्रहरुलाई पनि म आग्रह गर्छु, बेला अनुसार हाम्रा बचन र व्यवहारहरु गरिएन भने जनताले त्यही ढंगले हामीलाई पनि निगरानी गरिराखेका हुन्छन्। सधैँ जनताको नजरमा हामी परिक्षामा नै छौँ।’
‘हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौँ। गीतहरु बदली, बदली आउनेछन्। एक जमाना थियो पिपिइ नभयो भने हामी राजीनामा दिन्छौैँ भन्ने जमाना थियो। अब त्यसको अभाव छैन भनेपछि त्यसको गीत बजेन। त्यसपछि पिसिआर परिक्षणकोे गीत आयो, अब औषधीको आउने छ र भेण्टिलेटरको गीतहरु आउनेछन्। त्यी गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्ने भन्ने विषयमा सिद्धान्तमा होइन, व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ,’ उनले भने।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय