दुई वर्षअघि जबरजस्ती करणी पश्चात हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निर्मलालाई न्याय माग्दै प्रतिक्रियाको बाढी नै बगाएका छन्।
प्रधानमन्त्री ओलीले सन् २०१६ को सेप्टेम्बर ११ तारिखमा राखेको प्रधानमन्त्री भएपछि संसदमा जाँदै गर्दाको फोटो राखिएको प्रोफाइल पिक्चरमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एकाएक निर्मला पन्तको फोटोसहितका प्रतिक्रियाहरुको ओइरो नै लगाएका छन्।
२०७५ साल साउन ११ गते कञ्चनपुरकी बालिका निर्मलाको जबरजस्ती करणी पश्चात गरिएको विभत्स हत्याका आरोपीहरु राज्य प्रशासनले अहिलेसम्म पनि पत्ता लगाई कानूनको दायरामा नल्याएपछि एकाएक सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्रीको आधिकारिक पेजको प्रोफाइल पिक्चरमा कमेन्ट गरी १० लाख पुर्याउने योजनामा प्रतिक्रिया दिन सुरु गरेका छन्।
उनीहरुले सरकार भेटियो, न्याय भेटिएन, जस्टिस डिले इज जस्टिस डिनाइड (न्यायमा ढिलाई हुनु भनेको न्याय नदिनु) हो भन्ने लेखिएका पोष्टरमा निर्मलाको फोटो राखेर प्रतिक्रियाको ओइरो लगाएका हुन्।
यसरी आइतबार साँझसम्ममा करिब २९० हजार प्रयोगकर्ताहरुले निर्मलाको परिवारलाई न्याय दिन सरकारले देखाएको उदासिनताप्रति सोझै र व्यंग्यात्मक शैलीमा कटाक्ष समेत गरेका छन्।
प्रधानमन्त्रीको प्रोफाइल पिक्चरमा कसले र कसरी यो कमेन्ट गर्ने कार्यको थालनी गर्यो भन्ने अझै पत्तो लागेको छ। भारतमा युट्युव प्रयोगकर्ताले विनोद शब्दको प्रयोग गर्दा उक्त शब्द हिट भएर ट्वीटरमा पनि ट्रेण्डिङमा आएपछि त्यसैको सिको गर्दै नेपाली फेसबुक प्रयोगकर्ताहरुले निर्मलाको विषयमा कमेन्ट गर्न सुरु गरेका हुन्।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय