हिमाल दैनिक
नेता गुरुङको अन्त्येष्टि, पार्टीमा गम्भीर क्षति पुगेको भन्दै कास्की काँग्रेसद्वारा दुःख व्यक्त
bhojraj-gurung
नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ‘सिकन्दर’ को सोमबार अन्त्येष्टि गरिएको छ । पोखरा रामघाटस्थित बौद्व अर्घाै सदनमा बौद्व परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि पोखरा ५ पस्र्याङस्थित गुरुङ निवासमा नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी र पूर्व सभापति यज्ञबहादुर थापाले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । श्रद्वाञ्जली अर्पणका लागि पार्टीका नेता, सयौं कार्यकर्ता र शुभेच्छुक पुगेका थिए । निवासदेखि बौद्व अर्घाै सदनसम्म शवयात्रा गरिएको थियो । केही समय अघिदेखि हेपाटाइटिसबाट प्रभावित गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा आइतबार दिउँसो निधन भएको हो । उनी ५८ वर्षका थिए । उनका १ श्रीमती र दुई छोरा छन् । २०१९ साल असार २९ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे, देउरालीमा जन्मेका गुरुङ हाल पोखरा ५ पस्र्याङमा बस्दै आएका थिए । गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान, सरल र त्यागि नेताका रुपमा लोकप्रिय थिए । २०३६ र २०४६ को क्रान्तिमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका गुरुङ निडर र स्पष्ट वत्ता थिए । बिना स्वार्थ पार्टीको शशक्तिकरण र कार्यकर्ताको समस्या बारेमा खुलेर बोल्न सक्ने नेताकोे छवि बनाएका थिए । उनी पछिल्लो पटक कास्की क्षेत्र नं ३(ख) प्रदेशसभामा उम्मेदवार बनेका थिए । यसैबीच, नेपाली काँग्रेस कास्कीले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी गुरुङको निधनले पार्टी स्तब्ध भएको जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा प्रकाशित शोक विज्ञप्तिमा नेपाल विद्यार्थी संघमा क्रियाशिल रहँदा देखिनै जुझारु क्रान्तिकारी स्वभावका गुरुङ निष्ठावान, इमान्दार, त्यागी, निडर र निस्वार्थी स्वभावको भएको उल्लेख छ । विद्यार्थी आन्दोलनमा पटक पटक नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी युवा तरुणबीच प्रिय नेताका रुपमा परिचित रहेको र पंचायती व्यवस्था विरुद्धको आन्दोलनसहित नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ । सिद्धान्तप्रति निष्ठावान, कर्मशील, निडर र प्रष्ट नेता गुरुङको निधनले नेपाली काँग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको भन्दै दुःख व्यक्त गरिएको छ । शोक विज्ञप्तिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त पिता लोकबहादुर गुरुङ, धर्मपत्नीे देवी गुरुङ, छोराहरु अभिनास गुरुङ, अनिश गुरुङसहितका सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update