हिमाल दैनिक
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २३ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘गणेशमानजीको त्याग, समर्पण, सङ्घर्षशीलता र आजको युवा’ विषयक भर्चुअल कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण गर्ने जिम्मा काँग्रेस र युवाको काँधमा रहेको बताएका हुन्। पूर्वमन्त्री जोशीले राजनीतिक नेतृत्वमा नैतिकता र इमान्दारिता आवश्यक रहेको बताउँदै नैतिकता र इमान्दारिता गुमाउँदा लामो सङ्घर्षबाट उपलब्ध गरेको राजनीतिक व्यवस्था नै गुम्ने खतरा रहेको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले निष्ठा, इमान्दारिता र लोकतन्त्रप्रतिको प्रतिवद्धता गणेशमान सिंहमा रहेको बताए । प्रदेशसभा सदस्य जीवन डङ्गोलले राणा विरोधी आन्दोलन गरेर जनताको अधिकारका लागि लड्ने नेता स्वर्गीय सिंह भएको उल्लेख गरे । मूल्य र मान्यतामा आधारित राजनीतिक गर्ने नेता स्व सिंह भएको उनको भनाई थियो । कार्यक्रममा काँग्रेस युवा नेताहरु मनोजमणि आचार्य, जन्मजय तिमल्सेना, रत्न कार्की, डिल्लीराम सुवेदी, प्रतिमा गौतमलगायतले जनताको हक अधिकारका लागि इमान्दारीपूर्वक लड्ने नेता सिंह भएको उल्लेख गरेका थिए । गणेशमान सिंहको जीवनीबाट युवा नेताले पाठ सिक्नुपर्ने उनिहरुको भनाई थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update