हिमाल दैनिक
गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो अस्पतालमा गङ्गादेवीको सुत्केरीका लागि बिहीबार बेलुकी ९ बजे शल्यक्रिया गरिएको थियो । उनले छोरीको जन्म दिएकी छिन् । शल्यक्रिया गरिएको कारण महतोलाई रगतको अभाव भएको थियो । चिकित्सकले उहाँका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको रगतका लागि नमूनासहित पठाएको थियो । जनकपुरस्थित रक्त सञ्चार केन्द्रले ओ पोजिटिभ समूहको रगत दिनुपर्ने ठाउँमा बी पोजिटिभ समूहको रगत दिएको बताइएको छ । मृतकका पति राजकुमारले ल्याएको सो रगतलाई चिकित्सकले जाँच नगरी चढाउँदा समूह फरक परेपछि नकारात्मक असरले मृत्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update