आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
आज बाह्रौँ गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु ।
जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो । यस उत्सवमा म यहाँहरु सबैलाई पुनः हार्दिक वधाइ ज्ञापन गर्दछु ।
मानव सभ्यताको विकास क्रममा सामाजिक प्रबन्ध र राज्यहरूको उत्पत्ति गणराज्यहरुबाटै भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने गणनायकहरुबाट गणराज्यहरुको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरु जनताको अभिमतबाट निर्णित हुने यस्तो व्यवस्थाबाटै नेपाली सभ्यताको पनि आरम्भ भएको थियो । तसर्थ, गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे । तर समयक्रममा यो प्रणाली भत्कियो । सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरु स्थापित हुने, उनीहरुको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरुको हुकुम नै कानुन हुने चरम अलोकतान्त्रिक प्रणालीहरु स्थापित र विकसित हुँदै गए । झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ । र, विकास गरेका छौं ।
https://www.facebook.com/himaldainik/videos/596386997639396/?t=1
नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ता अन्त्य भएको छ । आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरुद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित छ । संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरु प्रतिविम्बित भएका छन् । हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरु ती आकाङ्क्षालाई मूर्त रुप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृङ्खला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ ।
गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलव्धिहरु गौरवपूर्ण र दूरगामी महत्वका छन् । तर यिनै उपलव्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन ।
गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेका छौँ ।
गणतन्त्र गणहरुमार्फत अर्थात् जनताहरूमार्फत जनताको तन्त्र हो । जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो । संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन ।
यसका लागि उत्पादनका साधनमा जनताको पहुँच आवश्यक छ । यसका लागि उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी छ । यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुन जरुरी छ ।
हाम्रा सम्पूर्ण प्रयासहरु यी कामहरु मार्फत् गणतन्त्रलाई जनताको जीवनसँग जोड्ने विषयमा केन्द्रित छन् । यसैलाई हामीले परिपूर्ण लोकतन्त्र भनेका छौँ ।
- गणतन्त्र शासन प्रणाली मात्रै होइन । यो त नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो ।
- गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन् ।
- गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन ।
- गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली हो । यहाँ विचारहरुबीच स्वस्थ बहस, मान्यताहरुबीच मर्यादित छलफल र असहमतिहरुको निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ । तर घृणा, विद्वेष र विभाजन ग्राह्य हुन सक्दैन ।
- गणतन्त्र विगतका अन्य कुनै पनि प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो र हुनु पर्दछ ।
- गणतन्त्रमा आफ्ना विचारहरु निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ, तर आफ्ना विचार या स्वार्थका लागि हिंसा र आतङ्क तथा डर र त्रासको प्रयोग स्वीकार्य हुन सक्दैन । अधिकार र कत्र्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउँछ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय