बिश्वभर महामारीको रुपमा भैलिएको कोरोना (कोबिड-१९) भाइरसले नेपालमा पनि ठुलो असर पुराएको छ। करिब ७२ दिन देखि सरकारले नेपालमा लक डाउन जारी राखेको छ। यस क्रममा सबै नेपालीहरु घरमा बस्न बाध्य छन्। हालसम्म नेपालमा कोरोना संक्रमणबाट संक्रमित हुनेको कुल संख्या २३ सय पुगेको छ भने यस बाट ९ जनाको मृत्यु भईसकेको छ।
बिश्व नै यतिखेर कोरोनासंग लडिराखेको बेला डिमर्चाले नयाँ गीत 'रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ 'सार्बजनिक गरेको छ । बिपन्न बर्गीय परिवारहरु जो बिहान बेलुका मजदुरी गरेर आफ्नो छाक टार्छन उनीहरुको जीवनमा लक डाउन र कोरोनाको असर गीत मार्फत चित्रण गरेका छन।
ब्याण्डका गायक भाष्करध्वज श्रेष्ठले कोरोनाको कारण भएको लकडाउन र यसले समाजमा उत्पन्न गरेको अवस्थालाई गीत मार्फत चित्रण गर्न खोजिएको बताउँछन्। उनी भन्छन्, 'गीतले श्रम गरेर खाने हरेक मानिसको कथालाइ बोल्ने मात्रै होइन यो पिडादायी दिनको अन्त्य छिट्टै हुनेछ भन्दै निराश नहुन पनि आग्रह गरेको छ ।’
https://www.youtube.com/watch?v=BaMeDvgRJQM&feature=emb_logo
यो गीतमा सन्जय बरालको शब्द रहेको छ भने संगीत डिमर्चाकै रहेको छ । म्युजिक भिडियोको छायाँङ्कन सन्जय शाक्यले गरेका हुन् भने सम्पादन सविन गायकले गरेका छन् । भिडियोको निर्देशन सञ्चारकर्मी सन्जय मल्लले गरेका हुन् ।'भिडियोले लकडाउनका कारण सबैभन्दा पिडित बनेका मजदुर र विपन्न परिवारको कथालाई उन्ने प्रयास गरेका छौं।’ निर्देशक मल्लले भने, 'समाजको यथार्थ कथालाई यथार्थ पात्र मार्फत नै चरित्रका रुपमा चित्रण गर्न खोजेका छौं ।’
गीतले अहिलेको वास्तविक भोगाइको अनुभूति दिलाउने निर्माण समुहले जनाएको छ । सरकारले कोरोना नियन्त्रणका लागि घोषणा गरेको लकडाउनका कारण विपन्न परिवार र मजदुर बर्ग बढि मारमा परे । स्थानिय सरकारले वितरण गरेको राहत पनि निर्विवाद बन्न सकेन । राहतका लागि मजदुर तथा विपन्न वर्गले आन्दोलन नै गनुपर्ने अवस्था पनि सिर्जना भएको थियो । कतिपय ठाउँमा राहत तथा खाना नपाएर सुतेकै अवस्थामा मजदुरको निधन भएको थियो । यो विकराल अवस्था र नाजुक समयलाई नै गीतको भावले सम्बोधन गर्न खोजेको छ ।
पोखरा लेकसाइडको द ट्रेजरको प्रस्तुतीमा बनेको भिडियोमा सञ्चारकर्मी पत्रकार उत्तम पौडेल, आयुष श्रेष्ठ, शिबचन्द्र परियार, बालकलाकारहरु निया श्रेष्ठ, स्वीकार मल्ल, आर्य भुजेलको अभिनय रहेको छ ।
डिमर्चाको लोकप्रिय गीत 'झ्याम्म–झ्याम्म':
https://youtu.be/gdwx7SWV4xs
पोखराको पहिलो र्याप व्याण्डको रुपमा परिचित डिमर्चाले वि.सं २०५५ सालमा पहिलो एल्बम 'खैलाबैला’ बजारमा ल्याएको थियो । २०५९ मा हुन्देरे, २०६२ मा '१, २, ३ भन्दिने हो’, २०६४ मा 'झ्याम्म–झ्याम्म’ र २०६८ मा 'कोहि छ किन्ने’ गरि ५ वटा एल्बम बजारमा ल्याइसकेको छ ।
डिमर्चा व्याण्डमा गायक भाष्करध्वज श्रेष्ठ, बेस गितारमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् ।
अन्य थुप्रै फुटकर गीत समेत रिलिज गरिसकेको डिमर्चाले नेपालको समसामयिक राजनीतिक अवस्थालाई चित्रित गर्ने गीत 'नेताज्यू नमस्कार’ बोलको गीतको म्युजिक भिडियो पनि यहि साता शुक्रबार सार्वजनिक गर्दैछ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय