रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको गए राति निधन भएको उनकी छोरी अल्पना रेग्मीले जानकारी दिईन ।
शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित छन् । उनले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भर्नुभएको थियो । तीलगायत ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।
ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासनविरुद्धको आन्दोलनमा उनि कला र सांगीतिक मोर्चाबाट होमिएकी थिइन्। निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गर्नुभएकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । स्व अधिकारीको गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र दुई छोरी छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय