कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ लागि रु.३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।
सोमबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२ औं बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आ.व.२०७७÷०७८ का लागि रु.३३ अब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ ।
जसअनुसार पूँजीगततर्फ १९ अर्ब, छ करोड ९१ लाख २१ हजार, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार र वित्तिय हस्तान्तरणतर्फ रु.दुई अर्ब, ९९ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । विनियोजित चालू खर्चअन्तरगत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागिरु.८७ करोड ४१ लाख, रोजगारीका लागि रु.दुई अर्ब ५८ करोड २६ लाख अन्य कार्य तथा प्रशासनिक खर्च रु.आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको मन्त्री ज्वालाले बताए ।
प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट उत्पन्न महामारी, त्यसले सृजना गर्ने संभावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रबिन्दु बनाएर बजेट ल्याएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय