प्रदेश २ को प्रदेशसभा बैठकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयप्रति सभासदहरुले विरोध जनाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा जनता समाजवादी पार्टीलगायत अन्य प्रतिपक्षी दलका सभासदहरुले नेकपाको यो निर्णय महिला र मधेश विरोधी भएको ठहर गर्दै आपत्ति जनाएका हुन् ।
सो पार्टीका सभासद मनिषकुमार सुमनले भारतको विहार र उत्तर प्रदेशबाट हजारौँ महिला विवाह गरेर आएको र यताबाट पनि हजारौँ महिला भारततर्फ विवाह गरेर गएकाले यस्तो निर्णयले धेरैलाई नागरिकताविहीन बनाउनेछ भने । सोही पार्टीका चमेलीदेवी दासले बच्चाका आमा बुबाको जन्मदर्ता नभए बच्चाको जन्मदर्तासमेत नबनाउने गरिएको भन्दै यो दुःख ती महिलाका सन्तानले समेत भोग्नुपर्ने बताईन । अर्की सभासद रानी शर्मा तिवारीले राजनीतिक स्वार्थपूर्ति गर्न नेपाल र भारतबीचको युगौँयुगको सम्बन्धलाई बिथोल्ने गरी एने ल्याउन नहुने धारणा राखिन् ।
नेपाली काँग्रेस सांसद शिवचन्द्र चौधरीले विवाह गरेर आएको सात वर्षको बीचमा बच्चा जन्मियो र त्यहीँ बीचमा महिलाका पतिको देहान्त भएमा महिलाले कसरी अधिकार पाउने भनी प्रश्न गरे । उनले कुनै राजनीतिक कारणले सम्बन्ध बिथोल्ने कार्य कदापि मान्य नहुने बताउँदै २०६३ सालको अन्तरिम संविधानकै आधारमा वैवाहिक अङ्गीकृत नागरिकता उपलब्ध गराउनुपर्ने उनले माग गरे ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय