नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले अर्थमन्त्री युवराज खतिवडाले आज प्रस्तुत गरेको बजेटले राजनीतिक कल्पनाशीलता र व्यवहारिक वास्ताविकताको यथार्थतालाई आत्मसाथ गर्न नसकेको प्रतिक्रिया दिएका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गर्दै ५ खर्ब २४ अर्ब ५० करोड घाटा बजेट पेश गरेलगत्तै नेता रिजालले यस्तो प्रतिक्रिया दिएका हुन्।
हिमाल दैनिकसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका छाया अर्थमन्त्री रिजालले संमृद्ध नेपाल, सुखी नेपालीको नारा लगाएर जनतामा सपना बाँडेको सरकार र यसका अर्थमन्त्री लक्ष्य हाँसिल गर्ने पूर्णरुपले असफल भएको दाबी गरे।
उनले भने, ‘बजेट विनियोजनमा कुनै राजनीतिक कल्पनाशीलता छैन। गत वर्षको ८ महिनामा राजस्व संकलनको सवालमा केही सकरात्मक लक्षण देखिएपनि पछिल्लो समय अर्थतन्त्रमा देखिएको कोरोना कहरको प्रभावले आगामी आर्थिक वर्षमा पनि राजस्वको लक्ष्य हाँसिल हुने कुनै सम्भावना देखिँदैन।’
अर्थमन्त्रीले राजस्व संकलनमा जुन असम्भव लक्ष्य लिएका छन् त्यस अवस्थामा सरकारले राखेको १५० प्रतिशतले वैदेशिक सहायता ऋण, अनुदान र सहयाता बढाउने लक्ष्य हासिल हुने सम्भावना पनि नरहेको उनको दाबी छ।
नेता रिजालले त्यस्तो अवस्थामा आन्तरिक ऋणको बोझ थपिने र चालु खर्चको तुलनामा न्यून रहेको पूँजीगत खर्च लक्ष्यको तुलनामा अत्यन्त न्यून हुने र त्यसले सरकारले राखेको संमृद्धिको सपना अधुरो हुने बताए।
राजनीतिक क्षेत्रबाट भन्दा अलग पेशाबाट अर्थमन्त्री बनेका मन्त्री खतिवडाले बजेट भाषणमा वित्तिय अनुशासन कायम गराउन प्रयासरत भएको देखाएपनि परिस्थितिको प्रतिकूलता र वास्तविकताको सहि विश्लेषण गर्न नसक्दा व्यवहारिक र तथ्यमा आधारित बजेट ल्याउन नसकेको पनि नेता रिजालले टिप्पणी गरे।
उनले भने, ‘अहिले नेपाल मात्र नभई सिंगो विश्व नै कोरोना कहरबाट प्रभावित भएको बेला यसले अर्थतन्त्रमा पार्न सक्ने प्रतिकूल असरको मूल्यांकन हुन नसकेको अवस्थामा मैले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भने जस्तै तत्कालका लागि सामान्य रुपमा बजेट ल्याउने र कोरोना त्रासबाट मुक्त भएपछि वस्तुनिष्ठ विश्लेषण गरी पूरक बजेट ल्याउँ। तर, अर्थमन्त्रीले १३ खर्बको हाराहारीभित्रै रहेर बजेट नल्याई झण्डै डेढ खर्ब बढीको बजेट ल्याउनु भयो। जुन यथार्थमा आधारित देखिँदैन।’
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय