हिमाल दैनिक
भारतसँगको सम्बन्ध कट गरे पोलिटिकल एक्सिडेन्ट हुन्छ: सांसद देव
jitendra-naryan-dev
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय समितिबाट पारित नागरिकता बिधेयकभित्रका केहि प्रावधानले देश राजनीतिक दुर्घटनातर्फ जाने चेतावनी दिएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयले देश राजनीतिक दुर्घटनातर्फ जाने बताएका हुन् । उनले उक्त निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सांप्रदायीक दंगा फैलाउन खोजेको आरोप समेत लगाए । सांसद देवले दुई वर्षको अवधिलाई हेर्दा नेकपाको नीति एकपाखे भएको टिप्पणी गरे। भारत र चीनसँग मित्रतको सम्बन्ध राख्नुपर्ने बताउँदै सत्ताधारी पार्टीको निर्णयले प्रजातन्त्रपछि स्थापना भएको जगमा एकपछि अर्को प्रहार गरेको उनले बताए । सांस्कृतिक सम्बन्धमाथि आक्रमण गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले बिहार र यूपीमा मधेशको वैवाहिक सम्बन्धले राष्ट्रिय एकता खतरामा जान्छ भन्ने सोचले बिस्तारै त्यसलाई समाप्त गर्ने दिशामा नेकपा लागेको आरोप लगाए । त्यस्तै, जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमार सिंहले नेकपाले राज्य व्यवस्था समितिमा बहुमतको दम्भ देखाएर गरेको निर्णयले मुठभेड निम्त्याउने बताए । उनले नेपाली पुरुषसँग विवाह गरेर आउने भारतीय महिलाले नै राष्ट्रघात गरेका हुन भन्दै प्रश्न समेत गरे । फरक प्रसङ्गमा उनले खेतीपातीको समय भएको र विदेशबाट पनि धेरै युवा स्वदेश फर्केको समयमा मलको उचित व्यवस्था गर्नुपर्ने सरकारसँग माग गरे । सांसद शेखरकुमार सिंहले वर्षायाम शुरु भएको बताउँदै तराई मधेसमा वर्षेनी बाढीबाट हुने क्षतिका सम्बन्धमा समयमै सरकारले ध्यान दिई समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update