हिमाल दैनिक
सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई देखाएको हतारले अनियमितता भएको आशंका जन्माएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनका लागि चैत १२ गते भएका बैठकका श्रृंखलाले अनियमितता भएको आशंका जन्माएको धारणा राखेका हुन्। रातारात ओम्नी समूहलाइ नै किन स्वास्थ्य सामग्री खरिद गर्न दिइयो भन्दै उनीहरुले प्रश्न समेत गरेका थिए। छलफलमा नेकपाका सांसद बिरोध खतिवडाले चैत १२ गते रातीभर बैठक बसेर ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिद गर्न दिनुले आशंका पैदा भएको बताए। त्यस्तै कांग्रेस सांसद मीनेन्द्रप्रसाद रिजालले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूह दिने बिषयमा चित्तबुझ्दो जवाफ आउन नसकेको बताए। उनले प्रारम्भिक छलफलमा नै सहभागी नभएकालाई ठेक्का दिएको बिषय संन्देहपूर्ण रहेको धारणा राखे। जनता समाजवादीका सांसद प्रदिप यादवले स्वास्थ्य सामग्री खरिदमा सार्वजनिक खरिद प्रणालीको धज्जी उडाएको र यसमा मन्त्रीसम्मको संलग्नता रहेको देखिएको बताए। बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रदेश र स्थानीय तहहरूलाई विनियोजन गरेको जानकारी दिए। उनले कोरोना केन्द्रीय कोषको रकम दुरुपयोग नभएको भन्दै सरकारकाे बचाउ गरे। बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमन सिंहले आफुहरु भर्खरमात्र जिम्मेवारी सम्हालेकाले धेरै जानकारी नभएको जवाफ दिएका थिए। समितिले चैत दोस्रो सातामा भएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ओम्नी समूहले खरिद गरेको सामग्रीमा अनियमितता भएको भन्ने सार्वजनिक भएको विषयमा सरोकारवाला अधिकारीहरुसंग छलफल गरेको हो।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update