हिमाल दैनिक
आफ्नै भूमि फिर्ताबारे वार्ता गर्न नसकेको सरकारलाई भारत र चीनबीचको द्वन्द्धमा मध्यस्तता गर्न सुझाव
khagraj-adhikari
नेपालको सीमा अतिक्रमणबारे वार्ताका लागि पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरिबसेको दक्षिणको छिमेकी मुलुक भारत र उत्तरको चीनबीच पछिल्लो समय भएको शैन्य भिडन्त र द्वन्द्धको मध्यस्तताका लागि सत्तारुढ दलका नेताले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र खगराज अधिकारीले देशको सीमा विवाद समाधानका लागि वार्तामा आउन अटेर गरिबसेको भारत र चीनबीचको द्वन्द्ध समाधान गर्न मध्यस्तताको भूमिका खेल्न माग गरे। ‘हामी सार्कको मुलुकभित्रको एउटा सदस्य राष्ट्र र सार्कको परिवेक्षक राष्ट्रकोबीचमा जुन भौतिक रुपमा भिडन्त भइरहेको छ यसले हामी गम्भीर छौँ। यी दुई राष्ट्रहरुबीचको समझदारीको पक्षमा हामी छौँ। उहाँहरुले शान्तिपूर्ण समाधान निकाल्नुहुनेछ भन्ने विश्वास लिएका छौँ,’ सांसद अधिकारीले भने। https://www.facebook.com/himaldainik/videos/290627595397029/?t=1 ‘अहिले सार्क राष्ट्रको नेतृत्व गरिरहेको नेपालले यससम्बन्धमा पनि महत्वपूर्ण भूमिका खेल्नु पर्ने बेला आएको छ। यसरी भूमिका खेलेर नेपाललाई शान्तिप्रिय देशको रुपमा झल्काउनेगरी हाम्रो परराष्ट मन्त्रालय, सरकार र सर्वदलीय पहल केन्द्रति गर्ने आशा लिएको छु,’ उनले भने। कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारको प्रभावकारी भूमिका निर्वाह गर्न असफल रहेको भन्दै सरकारविरुद्ध सडकमा उत्रिएको युवा जमातप्रति नेता अधिकारीले व्यवस्था विरोधी प्रतिगामी शक्तिको पक्षपोषक भएको आरोप लगाए। लकडाउनको समयमा सबै व्यवसाय बन्द गरी घरमा बन्दाबन्दीको अवस्थामा रहेका उद्योग, व्यवसायी र सर्वसाधारण करदातालाई लकडाउनकै समयमा कर दाखिला गर्न सरकारले गरेको ताकेताबारे सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई उनले सरकारमाथि भएका चौतर्फी घेरबन्दीको आरोप लगाए। उनले भने, ‘सरकारलाई चौतर्फी घराबन्दी गरिएको छ। अदालतले साउनदेखि नै भ्याट उठाउन नपाउने बनाएको छ। यो लकडाउन त अलिपछि नै सुरु भएको हो तर, यो चालु वर्षको साउनदेखि नै भ्याट उठाउन नपाउने, सरकारका हातखुट्टा बाँध्ने र राष्ट्रपति कार्यालयको एक करोडभन्दा बढीको गलैँचा ओच्छ्याइयो भनेर आलोचना गर्ने जस्ता कामहरुले गर्दा सरकारलाई चौतर्फी हमला गरिएको छ।’ कोराना संक्रमितका लागि पर्याप्त परिक्षण किट, स्वास्थ्य उपचारका सामाग्रीसँगै क्वारेन्टाइनमा बसेका नागरिकको लागि आवश्यक व्यवस्थापनको विषयभन्दा राज्यका उच्चपदस्थ व्यक्तिको खाँतिरदारीमा राज्यकोषको दुरुपयोग भइरहेको विषयलाई सडकमा युवा समूहले स्वःस्फूर्त उठाएको आवाजलाई पनि उनले सरकारविरुद्धको घेराबन्दी भन्न भ्याए। कोरोना संक्रमण विरुद्ध सरकारले क्वारेन्टिनहरु बनाएर, आइसोलेशन वार्ड बढाएर, आडिटी, पिसिआर मेशिनहरु बढाएर परिक्षणहरु बढाएको र तिब्र गतिमा अघि बढिरहेको दाबी गरेको नेता अधिकारीले क्वारेन्टाइनमा गर्भवती र सुत्केरी महिलाको समस्या समाधान गर्न सुरक्षा गार्ड र शौचालयको राम्रो व्यवस्था गर्न माग गरे। तीन महिनादेखि जारी लकडाउनको समयमा देशको अर्थतन्त्र टाट पल्टिसकेको जानकारी सरकारकै अर्थमन्त्रीले सदनमा दिएपनि नेता अधिकारीले भने स्थानीय विकास साझेदारी कार्यक्रम र रणनीतिक सडकलाई समेत कोभिड विरुद्ध लड्न सक्ने सामाथ्र्य र पूर्वाधार बनाउने गरी निरन्तरता दिन पनि माग गरे। साथै उलने पटक पटक अदालतप्रति लक्षित गर्दै सरकारको हातखुट्टा बाँध्ने र सरकारले गरेन भनेर चौतर्फी हमला गर्ने कार्य भएको आरोप पनि लगाए। उनले भने, ‘यसले कोभिड–१९ विरुद्धको लडाई होइन व्यवस्था विरोधीहरुलाई हौसला दिन्छ। अहिलेमात्रै बौद्धमा राजा आउ देश बचाउ भन्ने व्यवस्था विरोधीहरलाई पनि हामलिे जवाफ दिनु छ। लोकतन्त्रलाई बचाउनु छ, गणतन्त्र बलियो बनाउनु छ।’
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update